तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा उम्मेदवारले बैङ्क खाता खोल्ने प्रक्रिया तीव्र, २७ मध्ये २६ ले लिए सिफारिस

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा उम्मेदवारहरूले बैङ्क खाता खोल्ने प्रक्रियालाई तीव्रता दिएका छन्। जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार कुल २७ जना उम्मेदवारमध्ये २६ जनाले बैङ्क खाता खोल्न आवश्यक सिफारिस लिइसकेका छन्।

इलाम क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले बैङ्क खाता खोल्न सिफारिस लिएका छन्। क्षेत्र नम्बर २ मा भने १४ जना उम्मेदवारले सिफारिस लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। क्षेत्र नम्बर २ को प्रशासनिक प्रक्रिया जिल्ला निर्वाचन कार्यालय इलाममै हुने भएकाले त्यहाँका दल तथा स्वतन्त्र उम्मेदवारहरूले सोही कार्यालयबाट सिफारिस लिइसकेका हुन्।

निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन प्रचारप्रसारका क्रममा इलामका उम्मेदवारहरूले अधिकतम ३१ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्।

जिल्ला स्थित अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका सूर्य भण्डारीका अनुसार २६ जनाले सिफारिस लिइसके पनि हालसम्म थोरैले मात्र बैङ्क खाता सञ्चालनमा ल्याएका छन्। उनका अनुसार निर्वाचन आयोग नेपालले उम्मेदवारहरूलाई निर्वाचन सम्पन्न भएको १५ दिनभित्र खर्च विवरण पेश गर्न निर्देशन दिएको छ।

उम्मेदवारले अन्य स्रोतबाट प्राप्त गर्ने २५ हजार रुपैयाँभन्दा बढी रकम अनिवार्य रूपमा बैङ्क खातामार्फत जम्मा गर्नुपर्नेछ। सोभन्दा बढी रकम नगद रूपमा सिधै खर्च गर्न पाइने छैन। उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण भने यसअघि नै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेका छन्।

अनुगमन अधिकृत भण्डारीका अनुसार हालसम्म इलाममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भने देखिएका छैनन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button