बैतडीमा निर्वाचन तयारी तीव्र, एक हजार दुई सय ८८ कर्मचारी खटिने
बैतडी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बैतडीमा चुनावी तयारी तीव्र पारिएको छ ।

निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन यहाँ एक हजार दुई सय ८८ जना कर्मचारी खटाइने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि खटिने कर्मचारीहरूको अन्तिम सूची प्रकाशन गरेर जिम्मेवारी तोकिएको जनाएको छ ।
निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीका अनुसार खटाइएका कर्मचारीलाई फागुन १५ र १६ गते आवश्यक तालिम प्रदान गरिनेछ । तालिम सम्पन्न भएपछि उनीहरू आ–आफ्ना मतदान केन्द्रतर्फ प्रस्थान गर्नेछन् ।
मतदाताको सङ्ख्याका आधारमा कर्मचारी व्यवस्थापन गरिएको छ । पाँच सयभन्दा बढी मतदाता रहेका केन्द्रमा ६ जना, पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा ५ जना र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो ।
निर्वाचनमा खटिने कर्मचारीहरूको प्रारम्भिक सूची फागुन ७ गते सार्वजनिक गरिएको थियो भने आइतबार उक्त सूचीलाई अन्तिम रूप दिइएको सहायक निर्वाचन कार्यालयले जनाएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एक अस्थायी गरी दुई सय पन्ध्र वटा मतदान केन्द्र रहेका छन् ।
आवश्यक मतपत्र र अन्य निर्वाचन सामग्री यसअघि नै जिल्लामा आइपुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्