तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभर सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार माघ महिनामा अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा कायम, लागु औषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, विपद् व्यवस्थापनदेखि समुदाय–केन्द्रित कार्यक्रमसम्म उल्लेखनीय कामहरू सम्पन्न भएका छन् ।

सवारी दुर्घटनातर्फ ६९ वटा दुर्घटनामा १०२ सवारी साधन संलग्न भएका छन् । ६ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । दुर्घटनाका प्रमुख कारण तीव्र गति (४७), चालक असक्षमता (१२), चालक मादक पदार्थ सेवन (९) र अन्य लापरबाही (१) रहेका छन् । ट्राफिक चेकिङबाट २,२०५ कारबाही गरी १८ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । अवैध हातहतियारतर्फ १ कटुवा पेस्तोल बरामद गरिएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा २० लाख २९ हजार ५८४ रुपैयाँ बराबरका सामान बरामद गरी २ जनालाई नियन्त्रणमा लिइएको छ ।

माघ महिनामा कुल १४३ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये जघन्य तथा गम्भीर अपराध ६ तथा ५५ वटा, सामान्य अपराध ८२ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा (६ जना पक्राउ) र आर्थिक अपराधका ३४ वटा मुद्दा दर्ता भएका छन् । चालु मुद्दाका १३३ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका १३ वटा पेण्डिङ मुद्दा सफल अनुसन्धानमार्फत टुङ्ग्याइएको छ। सम्पत्ति शुद्धिकरणसम्बन्धि मुद्दा भने दर्ता भएको छैन ।

फैसला कार्यान्वयनतर्फ ३५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट ८ वर्ष ४ महिना ७ दिन कैद असुल भएको छ भने २२ लाख ८४ हजार ३७२ रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये १८० वटा फर्छ्योट भइसकेका छन् भने २६ वटा बाँकी छन् । उमेर समूह अनुसार पीडित तथा पीडक १८–२५ वर्षका ६८ जना र २६–३९ वर्षका १३८ जना रहेका छन् ।

हराएका तथा फेला परेका व्यक्तिहरूको तथ्याङ्क अनुसार २५ महिला, २१ बालिका, ६ बालक, २ ज्येष्ठ नागरिक पुरुष र ३ पुरुष हराएका थिए । तीमध्ये ११ महिला, १५ बालिका, १ बालक र २ ज्येष्ठ नागरिक पुरुष फेला परेका छन् भने १४ महिला, ६ बालिका, ५ बालक र ३ पुरुष अझै फेला पर्न बाँकी रहेका छन् । घरेलु हिंसासम्बन्धी ४० वटा उजुरी परेका छन्, जसमा झैँ–झगडा प्रमुख रहेको छ । २५ वटा मुद्दा मिलापत्र गराइएको वा अदालत पठाइएको छ । स्थानीय तह अनुसार विस्तृत विश्लेषण उपलब्ध छैन ।

ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ३५३ उजुरी परेका छन्, जसमध्ये १६७ फर्छ्योट भएका, १ सम्बन्धित निकायमा पठाइएको र १८६ बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ९९ उजुरीमध्ये ३ फर्छ्योट भएका र ९६ बाँकी रहेका छन् । लागु औषध नियन्त्रणतर्फ २८ जना पक्राउ परेका छन् । ब्राउन सुगर १६३ ग्राम ४४० मिलिग्राम, ट्रामाडोल १,१३० क्याप्सुल, नाइट्राजेपाम ३८ ट्याब्लेट र गाँजा १८ ग्राम ८०० मिलिग्राम बरामद गरिएको छ । माघ महिनामा ५ वटा आत्महत्या घटना भएका छन् । झुण्डिएर ४ र विष सेवनबाट १ जनाले आत्महत्या गरेका छन् । मृतकमध्ये ४ पुरुष र १ महिला रहेका छन् । उमेर समूह अनुसार २६–३५ वर्षका ४ जना र ४६–६० वर्षका १ जना रहेका छन् ।

गत महिनाको प्रमुख घटनामा २०८२ माघ १ गते डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित इनारमा पहिचान नखुलेको शव फेला परेको घटनामा अनुसन्धानका क्रममा स्थानीय राजेश बर्मा संलग्न रहेको प्रारम्भिक निष्कर्षसहित उनलाई माघ ११ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा २९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट ४२३ महिला र ७०० पुरुष लाभान्वित भएका छन् । अनुचित लेनदेनसम्बन्धी १ मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button