७० प्रतिशत अनुदानमा ६० किसानलाई मिनी टिलर
बाँके। बैजनाथ गाउँपालिकाले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत मिनी टिलर वितरण अभियानलाई निरन्तरता दिएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले २०३ जना किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराउने लक्ष्य लिएको छ। सोही कार्यक्रमअन्तर्गत बुधबार गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नम्बर ३ र ४ का ६० जना किसानलाई मिनी टिलर वितरण गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानलाई मिनी टिलर हस्तान्तरण गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमार्फत उत्पादन वृद्धि गरी किसानको आयस्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले पहिलो चरणमा वडा नम्बर १ र २ का ३३ जना किसानलाई मिनी टिलर वितरण गरिएको जानकारी दिँदै बैजनाथको आर्थिक समृद्धिको आधार कृषि भएकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष शाहीले कृषिलाई परम्परागत प्रणालीबाट आधुनिक प्रणालीमा रूपान्तरण गर्दै किसानको श्रम, समय र लागत घटाउने तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले किसानको आर्थिक अवस्था सुदृढ बनाउन गाउँपालिकाले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
विगत चार वर्षदेखि ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत किसानलाई ७० प्रतिशत तथा पूर्ण अनुदानमा विभिन्न कृषि सामग्री र उपकरण उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ। यसपटक कार्यक्रमबाट छुटेका किसानलाई आगामी आर्थिक वर्षको बजेटमार्फत समेटिने अध्यक्ष शाहीको भनाइ थियो।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का वडाध्यक्ष प्रेमबहादुर शाही, कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, नायब प्राविधिक सहायक सचिन मेघनाथलगायतको उपस्थिति रहेको थियो।
गाउँपालिकाले कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। मिनी टिलर वितरणले खेतीपातीलाई सहज, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्