कुवेतमा रौतहटका युवा अलपत्र, उद्धारको माग
रौतहट । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका रौतहटका एक युवक अलपत्र पर्नुभएको छ । जिल्लाको कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोकाका २४ वर्षीय सन्दीप यादव छ महिनाअघि रोजगारीका लागि कुवेत पुग्नुभएको थियो ।

उहाँले करिब दुई लाख ८९ हजार रुपैयाँ बुझाएर वसुन्धरास्थित नमो बुद्ध म्यानपावरमार्फत कुवेत पुग्नुभएको थियो । सर्लाहीका एजेन्ट अजय कुमार यादवमार्फत मासिक १०० कुवेती दिनार तलब, खाना–बस्ने सुविधा तथा दैनिक आठ घण्टा कामको व्यवस्था हुने आश्वासन दिइएको थियो । तर, कुवेत पुगेपछि पूर्व जानकारी बिना गर्दै आएको काम परिवर्तन गरी सरसफाइसम्बन्धी कार्यमा खटाइएको उहाँले बताउनुभयो । मासिक १०० कुवेती दिनार तलब पाइए पनि खाना तथा अन्य खर्च आफैँले बेहोर्नुपर्दा करिब ३५ कुवेती दिनार खर्च हुने गरेको उहाँको भनाइ छ । यसरी न्यून बचत हुँदा लगानी उठाउन कठिन भएको उहाँले गुनासो गर्नुभयो ।
दुई महिना काम गरिसकेपछि स्वदेश फर्किने इच्छा व्यक्त गर्दा सुरुमा प्रक्रिया मिलाइदिने आश्वासन दिइएको तर पछि काम छोडेर कोठामा बस्न निर्देशन दिँदै थप ३०० कुवेती दिनार माग गरिएको उहाँको भनाइ छ । रकम जुटाउन नसक्दा एजेन्ट सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । काम छोडेको एक महिना २० दिन बितिसक्दा पनि पाउनुपर्ने तलब नपाएको उहाँको भनाइ छ ।
हाल उहाँ कुवेत सिटीस्थित श्रमिक आवासमा साथीहरूसँग बसिरहनुभएको छ । कम्पनीले खाली कोठा उपलब्ध गराए पनि आधारभूत सुविधा नहुँदा प्लास्टिक ओछ्याएर सुत्नुपरेको तथा कति पटक भोकै बस्नुपरेको उहाँले बताउनुभयो ।
यस विषयमा एजेन्ट अजयसँग सम्पर्क गर्दा यादवलाई फर्काउने प्रक्रिया चलिरहेको दाबी गर्नुभयो ।
वैदेशिक रोजगारीका नाममा ठूलो रकम असुली गरी युवालाई अलपत्र पार्ने घटनाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा पीडितको शीघ्र उद्धारको माग गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्