झापामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

झापा । झापामा १६ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा गौरादहस्थित जनता माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । आज विद्यालय पसिरमा आयोजित एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ वटै जिल्लामा आगामी वर्षदेखि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न माध्यमबाट झापाको खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक एवम् सामाजिक सङ्घ–संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।
खेलाडीको रुपमा खेल क्षेत्रमा पदार्पण गरी पछि प्रशिक्षकको रुपमा खेल क्षेत्रमा योगदान पुर्याउदै अवकाश प्राप्त गर्ने तेक्वान्दो प्रशिक्षक हरिबहादुर भुजेल र एथलेटिक्स प्रशिक्षक गोपाल यादव, त्यस्तै, एथलेटिक्सबाट विश्वमा नेपालको पहिचान बनाउन सफल अल्ट्राधाविका पुष्पा शेर्मा, झापामा पहिलो पटक महिला गोल्डकप आयोजना गरेर महिला फुटबलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा तथा संस्थागत रुपमा झापा उद्योग वाणिज्य सङ्घलाई प्रमुख अतिथि मुख्यमन्त्री कार्की, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फलवती राजवंशीलगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
गौरीगञ्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् पर्व खेलाडी दीपेन्द्र थापा र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा स्वागतसहित अध्यक्ष भण्डारीले प्रतियोगिताको बारेमा जानकारी गराउँदै पर्याप्त बजेटको व्यवस्था नभइरहेको अवस्थामा गौरादह नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएर प्रतियोगिता सम्पन्न गर्न हौसला प्रदान गरेको बताउनुभयो ।
झापाका १५ वटै स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीहरूले १२० स्वर्ण, १२० रजत र २४० कांस्य पदकका लागि विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
उद्घाटनसँगै भलिबल, कबड्डी र मासलआर्टका खेलहरू सञ्चालन भएको पनि नेम्बाङले बताउनु भयो ।
तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीहरूले कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने समितिका सदस्य तथा प्रवक्ता जगन कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्