तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा । मनाङ मर्स्याङ्दी क्लब २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालाको फुटबल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटर फाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई १—० को  गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

मनाङको जितमा आसिस श्रेष्ठले निर्णायक गोल गर्नुभयो । आसिसले हेडमार्फत खेलको १ सय ५ मिनेट पछिको इन्जुरी समयमा गोल गर्नुभएको हो । ९० मिनेटको निर्धारित समयमा दुवैतर्फ गोल हुन नसके पछि खेल १५÷१५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । गत वर्षदेखि आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउँदै आएको भारतको थण्डरबोल्ट यसपाली सिधै क्वाटर फाइनलको यात्रा पाए पनि क्वाटर फाइनलबाट माथिको यात्रा भने तय गर्न सकेन । पाएका केही अवसर सदुपयोग गर्न नसक्दा यसपाली पनि क्वाटर फाइनलबाट यात्रा छोट्टाएको हो । गत वर्ष प्रि—क्वाटर फाइनलमा सङ्कटा क्लबलाई पराजित गरी क्वाटरमा थन्डरबोल्ट ब्याक बुल्स फुटबल क्लबसँग पराजित भएको थियो । आजको खेलमा मनाङका आसिस श्रेष्ठ म्यान अफ दी म्याच घोषित हुनुभयो ।

समूह एकको मनाङले अब सहारा क्लबसँग यही फागुन ६ गते पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

थन्डरबोल्टका प्रशिक्षक आसिस क्षेत्रीले नेपालको चर्चित र बलियो टिम मनाङसँग आफूहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै अतिरिक्त समयमा हार्नुपरेको बताउनुभयो । आफूहरूसँगै युवा सहितको टिम भएकोले आगामी दिनमा समेत आउने उहाँले जनाउनुभयो । मनाङका प्रशिक्षक अनिल तामाङले आफूहरूले पाएका केही अवसर सदुपयोग हुन नसक्दा जित निकाल्न अतिरिक्त समयको सहायता लिनुपरेको बताउनुभयो । सहारा विरुद्धको सेमिफाइनल खेल उत्कृष्ट प्रदर्शन गर्ने गरी तयारी गर्ने उहाँले जनाउनुभयो । मनाङ आहा रारा पोखरा गोल्डकपमा ६ पटक उपाधिसहित सर्वाधिक सफलता हासिल गरेको टिम हो ।

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत सोमबारको खेल पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रेफ्रिलाई बल हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको हो ।

यसैबिच, भोलि (मङ्गलवार) चौथो क्वाटर फाइनल खेलमा प्लानिङ व्वाईज यूनाइटेड र उज्बेकिस्तानको आबा फुटबल क्लबबिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button