सल्यानका ८३ वटै वडामा मतदाता शिक्षा : बदर मत घटाउने लक्ष्य

सल्यान । सल्यानमा बदर मत घटाउने लक्ष्यका साथ आइतबारबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ ।
१८ दिन बाँकी रहँदा निर्वाचन कार्यालय सल्यानले मतदातालाई सचेत गराउने तथा सही मत सङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले जिल्लाका ८३ वडामा एक साथ मतदाता शिक्षा सुरु गरेको हो ।
२०७९ को निर्वाचन प्रत्यक्षतर्फ ५३ प्रतिशत अर्थात् ८३ हजार७ सय ४ मत खसेकोमा ८ दशमलव ८१ प्रतिशत अर्थात् ७ हजार ३ सय ७६ मत बदर भएको थियो । समानुपातिकतर्फ भने ८४ हजार ७ सय ८९ अर्थात् ५३ दशमलव ७७ प्रतिशत मत खसेकोमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएको थियो ।
२०७९ लगायतका विगतमा भएको बदर मतलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ प्रत्येक वडा तहबाट मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख धिरेन्द्र भण्डारीले बताउनुभयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक टोलसम्म पुग्ने गरी मतदाता शिक्षा स्वयंसेवक परिचालन भइसकेको उहाँको भनाई छ ।
प्रत्येक वडामा एसइई वा सो सरह उत्तीर्ण गरेको महिला स्वास्थ्य स्वयंसेविका, बालबालिका सहजकर्ता वा सामुदायिक अध्ययन केन्द्रका परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा परिचालन गरिएको उहाँले बताउनुभयो ।
मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी गराइने भण्डारीको भनाई छ । मतदाता शिक्षा प्रभावकारी भए नभए अनुगमन निर्वाचन कार्यालयबाट तालिमप्राप्त अनुगमनकर्ताले गर्ने समेत उहाँले बताउनुभयो ।
मतदाताले हालेको मत सदर होस् भन्ने सोचका साथ नमुना निर्वाचन समेत गराइने कार्यालयले जनाएको छ ।
एक निर्वाचन क्षेत्र रहेको सल्यानमा १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् । ती मध्ये ८३ हजार ३ सय२१ पुरुष र ७९ हजार सय महिला मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्