जनकपुरधाममा फागुन ५ गतेबाट अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
जनकपुरधाम । यही माघ ५ गतेबाट जनकपुरधाममा शुरु हुन लागेको “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” को तयारी पुरा भएको छ ।

मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्व विद्यालयको सहितको निकायको सह–आयोजनामा हुन लागेको सो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको कोषले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
चार दिवसीय अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल–भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिनु भएका विद्वान तथा विदुषी, कालाकारहरूको सहभागिता रहने महोत्सव फागुन ५ गतेबाट शुरु भएर फागुन ८ गतेसम्म चल्ने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।
यस अघि ४ पटक सफलतापूर्वक अन्तर्राष्ट्रिय महोत्सव गरिसकेका कोषले यस पटकको महोत्सवमा २० विभिन्न विषयमा विमर्षको आयोजना गर्न लागेको छ । महोत्सवमा साहित्यका विषयवस्तु मात्र नभएर राजनीतिक, सामाजिक, इतिहास सहितका विषयमा विमर्ष गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइयो ।
महोत्सवमा चित्रकला, पुस्तक प्रदर्शनी, मिथिलाका भोजन, विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा सांस्कृतिक झाकी सहितको शोभा यात्रा, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकलाको कार्यशाला तथा प्रदर्शनी, पाँच वटा विभिन्न नाटकहरू, मिथिलाको भोजन तथा कवि गोष्ठी रहेका छन् ।
करिब ५२ लाख खर्च हुने महोत्सवको कार्यक्रम जनकपुरधामको वडा नंं ८ सीता कुण्डमा निर्मित मैथिली विकास कोषको भवनमा हुने छ । झाँकी सहितको शोभा यात्रा जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानबाट हुने बाहेकका सबै कार्यक्रम कोषको आफ्नै भवन तथा भवन अगाडी बनाइने पण्डालमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।








प्रतिक्रिया राख्नुहोस्