तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा निर्वाचनमा उम्मेदवारको चहलपहल: मतदाताको उत्साह र हैरानी मिश्रित

बीरगंज। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागी अहिले पर्साका १४ वटै पालिकामा राजनैतिक दल, उम्मेदवार तथा नेताहरूको जमघट लागेको छ।

एउटा दलका उम्मेदवारले मत मागेर गाउँ-टोलबाट बाहिरिन नपाउँदै अर्को दलका नेताहरू प्रवेश गरी मत माग्न थालेको देखेर स्थानीय मतदाता उत्साहित सँगै हैरान समेत हुन थालेका छन् ।

अहिले पनि नेताहरूका चुनाव प्रचारप्रसार शैलीमा परिवर्तन आउन सकेको छैन । उनीहरूले मतदाताले राख्ने सबै खाले समस्यामा सहमति जनाउने, चुनाव जितेपछि पूरा गर्ने आश्वासन बाँड्दै हिँडेको पर्सा बिरुबागुठीका मतदाता भुवन पौडेलले बताउनुभयो ।

विगतको चुनावमा यसरी नै मत मागेर जितेर गएपछि अहिले चुनावमा उनीहरूलाई मतदाताहरूले आआफ्नो घर आँगनमा देख्न पाएका छन् ।

पर्सा पोखरियाका मतदाता महम्मद जाबेद आलमले अहिले गाउँ टोलमा मानिसहरू घरमा बसेर आरामले खाना खान, काममा जान नसकिरहेको बताउँदै बिहान चिया खानेबेलादेखि साँझ सम्म मत माग्नका लागि विभिन्न दलका नेताहरू आउने–जाने गरेको कारण उत्साहित सँगै हैरान समेत खेप्न थालेको बताउनुभयो । 

कामका लागि घरबाहिर निस्कने क्रममा नेताहरू भीड लिएर आउने गरेका र काममा जान समेत अवरोध सिर्जना भएको गुनासो आलमको छ ।  

यस अघिको प्रतिनिधिसभा सदस्य पदमा चुनाव जितेर गएका तथा गत चुनावमा हारेका र अहिले पुनः लडिरहेका नेताहरू पनि आफूले चुनाव जितेको खण्डमा जनताका समस्या समाधान गर्ने आश्वासन बाँड्दै हिँडेको मतदाताहरूले बताएका छन् । 

गत २०७९ सालको चुनावमा आश्वासन बाँडेर गएका नेताहरूले अहिलेसम्म प्रतिबद्धता अनुसार केही गर्न सकेका छैनन् । उदाहरणका लागि पर्सा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बन्जारी हुँदै जगरनाथपुर, लङ्गडी, बखरी, गुलरिया, जानकीटोलासम्मको सडकलाई कालोपत्रे गर्न २०७२ मा नै ठेक्का भएको थियो । ठेकेदार काम छोडी भागेको छ । १० वर्षदेखि सडक अधूरो अवस्थामा छ । सडक बनाउने क्रममा लङ्गडी, जगरनाथपुरका सयौं घर भत्काउने काम गरिएको थियो ।

यस अघिका दुई चुनाव २०७४ र २०७९ मा मत माग्ने क्रममा दलका नेताहरूले सडकको काम अगाडि बढाउने र ठेकेदारलाई कारबाही गरिने बताएका थिए । हार्नेले त वास्ता गरेनन् तर जित्नेहरूले पनि केही नगरिदिँदा त्यस क्षेत्रका मतदाताहरू पीडित बनेका छन् ।

निर्वाचन जनप्रतिनिधि छान्ने सुनौलो अवसर भएकाले जनताको पक्षमा कामगर्ने लाई मत दिएर जिताउने तथा काम नगर्नेलाई ठेगान लगाउने तयारीमा पर्साका मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button