तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ झापा गोल्डकप : एपीएफ सेमिफाइनलमा प्रवेश

झापा । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको एकपक्षीय खेलमा एपीएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो ।

खेलको छैटौँ मिनेटमै एपीएफले गोलको खाता खोल्यो । एपीएफका स्ट्राइकर प्रदीप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली चुमेको थियो । एपीएफको लागि अर्को गोल कप्तान हरि कार्कीको नाममा रह्यो । उनले खेलको १८ औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

एपीएफका लागि तेस्रो गोल पनि कप्तान कार्कीकै नाममा रह्यो । २२ औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै कार्कीले टिमको जित निश्चित गरेका थिए ।

खेलको ८३ औँ मिनेटमा गोल गर्दै एपीएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । योसँगै जारी प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कार्की एक्ला खेलाडी बनेका छन् ।

भुटानको लागि एक मात्र सान्त्वना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९ औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपीएफका दिपेश धिमालले डिबक्समा फल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मच्छिन्द्र एसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button