तपाईँ सुन्दै हुनुहुन्छः

बाँके–१: एमाले, कांग्रेस र स्वतन्त्रबीच कडा भिडन्त

नेपालगञ्ज। बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

यो क्षेत्रमा दलगत र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन्। नेकपा एमालेले निवर्तमान सांसद सूर्य ढकाललाई उम्मेदवार बनाउँदा नेपाली काँग्रेसले पार्टी जिल्ला सभापति नारायण प्रसाद गौडेललाई अघि सारेको छ । नेकपाबाट जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’उम्मेदवार हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टीले सुरेश कुमार चौधरी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी ‘नमुना’ उम्मेदवार हुनुहुन्छ । 

चौधरी अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्तिबाट उम्मेदवार हुँदा नमुनाले नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा उम्मेदवार भई निर्वाचित हुनुभएको थियो । गठबन्धनका कारण २०७९ मा यहाँ काँग्रेसको उम्मेदवार थिएनन् । क्षेत्र नम्बर १ मा पाँच जना उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । एमाले विरासत जोगाउने दाउमा रहँदा पुराना र नयाँ दल उसको चुनौती बन्ने देखिएको छ ।

एमाले केन्द्रीय सदस्य ढकाल दोस्रो जितको खोजीमा हुनुहुन्छ भने काँग्रेसका गौडेल जित निकाल्ने कोसिसमा हुनुहुन्छ । रास्वपाका चौधरी पहिलो जित निकाल्ने दाउमा रहँदा नेकपाका पाण्डे २०७४ को जित फर्काउने कोसिसमा हुनुहुन्छ । यहाँ पुराना दलको प्रमुख प्रतिस्पर्धीका रूपमा चौधरीलाई हेरिएको छ । यो क्षेत्रबाट २०७४ मा माओवादी केन्द्रका महेश्वरजंग गहतराज र २०७० मा एमालेका देवराज भार निर्वाचित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेले समानुपातिकतर्फ सर्वाधिक १६,८७६, काँग्रेसले काँग्रेसले १४,२१८, नागरिक उन्मुक्ति ९,९९७, माओवादी केन्द्र ८,९९३ र रास्वपाले ८,९९२ मत प्राप्त गरेका थिए ।

जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिका अन्तर्गत सबै ३० वडा समावेश छन् । यस क्षेत्रमा कूल १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा ४८ वटा मतदान स्थलसहित १४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button