राष्ट्रियसभा: प्रतिनिधिसभाको छायामा होइन, छुट्टै पहिचानमा अघि बढ्नुपर्ने सांसदको सुझाव
काठमाडौँ। सांसदहरूले प्रतिनिधिसभाको प्रतिछाया जस्तो नबनी राष्ट्रियसभा छुट्टै पहिचानसहितको प्रबुद्ध सभाका रूपमा काम गर्ने सभा बनिरहनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सभामा ६ वर्षे पदावधि पुरा गरी फागुन २० गतेदेखि बिदाइ हुन लाग्नुभएका सांसदहरूले आज सभामा आफ्ना अनुभव राख्दै देशको भौगोलिक विविधता र विकासमा देखिएका असमानतालाई विशेष ध्यान दिँदै सभाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले मतभेदकाबीच पनि राष्ट्रियताका विषयमा साझा निष्कर्ष निकाल्ने राष्ट्रिय सभाको अभ्यासले लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउने आधार तयार हुने भन्दै यसलाई सधैँ आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
सांसदहरूले कानुन निर्माण हुने तर कार्यान्वयन नहुने, कानुन निर्माणमा स्वार्थ समूहको प्रभाव र दबाब हुने, शून्य, विशेष, आकस्मिक र प्रादेशिक समयमा सांसदहरूले उठाएका मुद्दाहरू एवं सङ्कल्प प्रस्तावहरू तथा प्रतिवेदनहरूप्रति सरकार गम्भीर र जिम्मेवार नहुनु दुःखद भएकाले यसतर्फ सधैँ सचेत बन्नुपर्ने बताउनुभयो ।
देशमा आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरण अभियान चलाउने विषयमा सरकार र सभा गम्भीर बन्नुपर्ने, सभा र समितिले दिएका निर्देशन र सुझाव कार्यान्वयनका विषयमा सम्बन्धित निकायले आत्मरक्षा गर्नु पर्नेमा सांसदहरूले जोड दिनुभयो ।
सांसदहरूले संविधान बनेको तीन वर्षमा बन्नुपर्ने कानुन १० वर्षसम्म बन्न नसक्दा विकास निर्माण लगायतका बाधा परेको भन्दै आवश्यक कानुनहरू छिटो बन्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभामा ६ वर्षको पदावधि सकिएर बिदा हुन लाग्नुभएका डा. बेदुराम भुसाल, इन्दिरादेवी गौतम, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट, तारामान स्वार, सुमित्रा विसीले सभामा रहँदा प्राप्त गरेका अनुभव राख्दै सभालाई सुझाव दिनुभएको थियो ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको ६ वर्षे पदावधि फागुन २० गते पुरा हुँदै छ ।








प्रतिक्रिया राख्नुहोस्