तपाईँ सुन्दै हुनुहुन्छः

‘सहरीकरणले बदलिरहेको गाउँको स्वरूप’

बाजुरा। बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँहरू पछिल्ला वर्षहरूमा तीव्र रूपमा सहरीकरण हुँदै गइरहेका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै बढेको बजारीकरण, सडक विस्तार र बसोबासको स्वरूप परिवर्तनका कारण गाउँका उर्वर खेतीयोग्य जमिन विनाश हुने जोखिम दिनप्रतिदिन बढ्दै गएको छ ।

विशेष गरी बाजुराका फालासैन, ताप्रीसेरा, डोगडी, कोल्टी, पिलुचौर, धुलाचौर तथा जुड्डी लगायतका क्षेत्रहरूमा विगतमा धान, गहुँ, कोदो, मकै जस्ता अन्नबाली फल्ने खेत अहिले कङ्क्रिटका घर, पसल, होटेल तथा अन्य भौतिक संरचनाले भरिँदै गएका छन् । खेतीयोग्य फाँट र पाखामा धमाधम ठूला–ठूला घर निर्माण हुँदा परम्परागत कृषि प्रणाली सङ्कटमा परेको स्थानीयको भनाइ छ।

सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहलाई प्राप्त अधिकारसँगै बजेट र विकास योजनाको पहुँच बढे पनि त्यसको प्रत्यक्ष असर खेतीयोग्य जमिनमाथि परेको देखिन्छ । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भइरहेका छन् । तर, योजना बिनै र भू–उपयोग नीति बेगर सडक काटिँदा उर्वर जमिन टुक्रा टुक्रा हुँदै नास भइरहेको छ ।

स्थानीय कृषकहरूका अनुसार पहिले परिवारको वर्षभरिको खान पुग्ने खेत अहिले घडेरीमा परिणत भएका छन् ।

सहरीकरणसँगै जग्गाको मूल्य बढ्नु पनि खेतीयोग्य जमिनको नास अर्को कारण बनेको छ । बजार नजिकका फाँटहरूमा खेतीभन्दा घडेरी बनाएर बेच्नु बढी फाइदाजनक भएपछि कृषियोग्य जमिन प्लटिङको चपेटामा परेको छ ।

विज्ञहरूका अनुसार पहाडी जिल्लामा सीमित मात्रामा उपलब्ध खेतीयोग्य जमिन संरक्षण गर्न नसके भविष्यमा खाद्य सङ्कट, बेरोजगारी र वातावरणीय समस्या थप जटिल बन्ने खतरा बढ्ने छ । समयमै प्रभावकारी नीति र नियमन लागू गर्न सकिएन भने बाजुरा मात्र होइन, सुदूरपश्चिमका धेरै पहाडी गाउँहरू कङ्क्रिटको जङ्गलमा परिणत हुने र उर्वर खेत इतिहासमै सीमित हुने खतरा बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button