तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम विश्वविद्यालयमा ‘सम्पदा, नवप्रवर्द्धन र रूपान्तरण’ विषयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै 

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले ‘सम्पदा, नवप्रवर्द्धन र रूपान्तरण’ विषयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । फागुन ५ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयको सभा हलमा सुरु हुने उक्त सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । 

सम्मेलनका संयोजक तथा विश्वविद्यालयका प्रा.डा. किशनदत्त भट्टले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि सम्पन्न दुई अन्तर्राष्ट्रिय सम्मेलनको सफलतापछि तेस्रो संस्करण आयोजना गर्न लागिएको हो । सन् २०२२ र २०२५ मा सम्पन्न सम्मेलनपछिको निरन्तरताका रूपमा सन् २०२६ मा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । संयोजक भट्टले सम्मेलनले विश्वविद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा विश्वका २३ देशबाट प्राध्यापक, विज्ञ तथा अनुसन्धानकर्मीहरूले तयार पारेका कार्यपत्र प्रस्तुत गरिने छन् । करिब ३०० अनुसन्धान पत्रमध्ये झण्डै २०० वटा दर्ता भई प्रस्तुतीकरणका लागि छनोट भएका छन् । कार्यक्रममा ८ मुख्य सत्र र २५ उपविषयमा केन्द्रित भई गहन छलफल गरिने जनाइएको छ । समाजशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, प्राकृतिक स्रोतसाधन, स्वास्थ्य, जनसङ्ख्या, योजना, जलवायु परिवर्तन, व्यापार व्यवस्थापन लगायतका विविध क्षेत्रमा अनुसन्धानमूलक प्रस्तुतीकरण हुनेछ । इन्जिनियरिङ संकायका डीनसमेत रहनुभएका प्रा.डा. भट्टले सम्मेलनमार्फत विश्वव्यापी प्राज्ञिक सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानले विश्वविद्यालय तथा सहभागीहरूलाई नयाँ दृष्टिकोण र सिकाइ प्रदान गर्नेछ ।

कार्यक्रमका सहसंयोजक प्राध्यापक मदनसिंह देउवाले सम्मेलनले विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने दिशामा टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले विश्व स्तरका विज्ञहरूको कार्यपत्र प्रस्तुतिले विद्यार्थी र प्राध्यापकहरूलाई नयाँ विषयमा अनुसन्धान गर्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । मानविकी तथा समाजशास्त्र संकायका उपप्राध्यापक डा. दीपकचन्द्र भट्टले अघिल्ला सम्मेलनबाट प्राप्त ज्ञान व्यवहारमा कार्यान्वयन भएको अनुभव साझा गर्दै यस सम्मेलनले थप व्यावहारिक उपलब्धि हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरको सहभागिताले विश्वविद्यालयलाई विश्व ज्ञान सञ्जालसँग थप सुदृढ रूपमा जोड्ने अवसर प्रदान गर्नेछ । 

वरिष्ठ लेखा अधिकृत अशोक भण्डारीका अनुसार नेपाल मटेरियल साइन्स सोसाइटी, विश्वविद्यालय अनुदान आयोग तथा अन्य सरकारी निकायको समन्वय र सहकार्यमा करिब ३० लाख रुपैयाँको बजेटमा तीनदिने सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालय प्रशासनले सम्मेलन उपलब्धिमूलक र दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button