बाजुरामा चुनावी सरगर्मी: आश्वासनभन्दा कार्ययोजनामा युवाको जोड
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाजुरामा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो र छलफल कार्यक्रममा व्यस्त रहनुभएको छ । गाउँ–गाउँ पुगेर उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा समग्र विकासका एजेन्डा अघि सारिरहनुभएको छ।तर यसपटक विगतका चुनावहरूजस्तो सहज रूपमा मतदातालाई विश्वस्त पार्न उम्मेदवारहरूलाई चुनौती थपिएको देखिन्छ।
पटक–पटक दोहोरिने आश्वासनहरू कार्यान्वयन नहुँदा मतदाताहरू नेताका भाषणभन्दा उनीहरूको विगतको काम र स्पष्ट कार्ययोजनामा चासो दिन थालेका छन्। विशेष गरी युवा मतदाताहरू रोजगारी र उद्यमशीलतासँग जोडिएका ठोस कार्यक्रम खोजिरहेका छन्।

वैदेशिक रोजगारीमा जान बाध्य युवाहरू गाउँमै अवसर सिर्जना गर्ने स्पष्ट योजना भएका उम्मेदवारप्रति सकारात्मक देखिएका छन्। स्थानीय स्रोत–साधनको उपयोग, कृषि तथा पर्यटन प्रवर्द्धन, सीपमूलक तालिम र साना उद्योग स्थापनाको प्रतिबद्धता गर्ने उम्मेदवारहरू युवा पुस्ताको रोजाइमा पर्न थालेका छन्। बडिमालिका नगरपालिका–१ का स्थानीय हर्क कार्कीले उम्मेदवारहरूलाई यसपटक सजिलै विश्वास गर्न नसकिने बताउनुभयो। काम गर्ने योजना र इमानदारी देखाउनेलाई मात्र समर्थन गर्ने सोच बनाएको उहाँको भनाइ छ।

जिल्लामा यसपटक एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका ८ जना उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्