जनकपुरधाममा चार दिने अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

जनकपुरधाम । जनकपुरधाममा आजदेखि “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” सुरु भएको छ ।
मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्व विद्यालयको सहितको निकायको सह–आयोजनामा महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव गर्नु हुँदै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि यस्ता प्रकारका महोत्सव महत्त्वपूर्ण भएको बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकारले मैथिली भाषा, साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी गर्ने बताउनु भयो । उहाँले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषा बनाउने तर्फ अग्रसर हुने बताउनु भयो ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मैथिली भाषा तथा साहित्य र कलाको विकासका लागि यस्ता प्रकारका महोत्सव महत्त्वपूर्ण भएको बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि उपमहानगरपालिका निरन्तर रूपमा काम गरिरहेको बताउनु भयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पट्टेल, पूर्व मन्त्री रामसरोज यादव, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
चार दिवसीय अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल–भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिनु भएका विद्वान तथा विदुषी, कालाकारहरूको सहभागिता रहेको छ । आजबाट सुरु भएको महोत्सव फागुन ८ गतेसम्म चल्नेछ ।
यस अघि ४ पटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव गरिसकेको छ । कोषले २०७३, २०७५, २०७८ र २०८० मा कोषले महोत्सव गरेकोमा यस पटकको महोत्सवमा २० विभिन्न विषयमा विमर्षको आयोजना गर्न लागेको छ । विमर्षमा साहित्यका विषय वस्तु मात्र नभएर राजनीतिक, सामाजिक, इतिहास सहितका विषय समेटिएको छ ।
महोत्सवमा चित्रकला, पुस्तक प्रदर्शनी, मिथिलाका भोजन, विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा आज बिहान जनकपुरधामको बाह्र बिघा रंगभूमि मैदानबाट सांस्कृतिक झाकी सहितको शोभा यात्रा निकालिएको थियो । महोत्सवमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकलाको कार्यशाला तथा प्रदर्शनी, पाँच वटा विभिन्न नाटकहरू, मिथिलाको भोजन तथा कवि गोष्ठी रहेका छन् ।
महोत्सवको बाँकी सबै कार्यक्रमहरू मैथिली विकास कोषको जनकपुरधाम स्थित मैथिली विकास कोषको भवन क्षेत्रमा हुने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्