तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा महिला च्याम्पियनसिप : एपीएफको फराकिलो जित

उदयपुर । एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत शनिबार उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा सम्पन्न खेलमा विभागीय टोली एपीएफ एफसीले आरएस रिसोर्ट पोखरामाथि १९–० को फराकिलो जित निकालेको छ ।

खेल सुरुदेखि नै पूर्ण रूपमा एकतर्फी बनेको थियो । एपीएफले आक्रामक शैलीमा लगातार दबाब सिर्जना गर्दै गोलको वर्षा गर्दा आरएस रिसोर्टले भने केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा गोलविहीन रह्यो ।

एपीएफको जितमा रश्मि कुमारी घिसिङ चम्किइन् । उनले व्यक्तिगत ११ गोल गर्दै कीर्तिमानी प्रदर्शन गरिन् । घिसिङले पहिलो हाफमै २३औँ, ३५औँ र ४५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् भने दोस्रो हाफमा थप ८ गोल थपिन् । उत्कृष्ट प्रदर्शनकै आधारमा उनी खेलको ‘म्यान अफ दि म्याच’ घोषित भइन् । 

त्यस्तै, अनिता केसीले ७औँ, ५२औँ र ७३औँ मिनेटमा गोल गर्दै अर्को ह्याट्रिक पूरा गरिन् ।

एपीएफका लागि सरु लिम्बु (१०औँ मिनेट), निशा थोकर (१९औँ मिनेट), गीता राणा (३१औँ मिनेट), मनमाया धमला (५०औँ मिनेट) र हिमा रावत (७०औँ मिनेट) ले समान एक–एक गोल गरे ।

एपीएफले पहिलो हाफमै ७–० को बलियो अग्रता बनाएको थियो, जुन दोस्रो हाफमा अझ फराकिलो बनाउँदै १९–० को ऐतिहासिक जितमा रूपान्तरण गर्‍यो।

प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने छ । एनआरटी यसअघि गाईघाट फुटबल क्लबलाई पराजित गर्दै लयमा देखिएको टोली हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button