तपाईँ सुन्दै हुनुहुन्छः

 यस्तो छ पाल्पाका दुई निर्वाचन क्षेत्रको चुनावी अवस्था

पाल्पा। दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा २९ जना उम्मेदवारले भाग लिँदै छन्।

अघिल्लो निर्वाचनमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएको थिए । नेकपा एमालेबाट नारायण प्रसाद आचार्य पाल्पा-१ मा र ठाकुर प्रसाद गैरे पाल्पा-२ मा  उम्मेदवार हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसबाट पाल्पा-१ मा ३८ वर्षीय युवा सन्दिप रानाले टिकट पाउँदा पाल्पा-२ मा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ । काँग्रेसका दुवै जना पहिलो पटक उम्मेदवार बनेका हुन् । त्यस्तै पाल्पा-२ मा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व मन्त्री सोम प्रसाद पाण्डे लगातार चुनावमा होमिदा ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट माघब बहादुर थापाले टिकट पाउनुभएको छ । 

पाल्पा क्षेत्र न-१ मा १३ र क्षेत्र न-२ मा १६ जना दल तथा स्वतन्त्र उम्मेदवारले २ सिटका लागि प्रतिस्पर्धा गर्ने छन् । जसमा ६ जना स्वतन्त्र उम्मेदवार छन् भने अन्य सबै दलीय उम्मेदवार हुन् । पाल्पा क्षेत्र नम्बर १ मा जम्मा मतदाता संख्या ९८ हजार ३८३ रहेका छन् । भने पाल्पा-२ मा १ लाख ९ हजार ५३ जना मतदाता गरी जम्मा २ लाख ७ हजार ४३६ जना मतदाता रहेका छन् ।  जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो । २०७९ सालको निर्वाचन भन्दा ६ हजार ११० जना बढी मतदाता रहेका छन् ।

जिल्लामा जम्मा मतदान स्थल ११८ र मतदान केन्द्र २५१ वटा रहेका छन् । जसमध्ये २९ वटा अति संवेदनशील,५० वटा संवेदनशील र ३९वटा सामान्य रहेका छन् । पाल्पा क्षेत्र नम्बर १ मा ५२ र क्षेत्र नम्बर २ मा ६६ मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा २० मतदानस्थल अति संवेदनशील,२४ संवेदनशील र ८ सामान्य मतदानस्थल रहेका छन् । क्षेत्र नम्बर २ मा मतदानस्थल ६६ रहेकोमा मतदान केन्द्र १ सय ३४ छन्। यहाँ  ९ मतदानस्थल अति संवेदनशील, २६ संवेदनशील र ३१ वटा सामान्य  मतदानस्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुबेदीले बताउनुभयो । सुरक्षा चुनौतीका आधारमा मतदान केन्द्रलाई सामान्य,संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । 

पाल्पा निर्वाचन क्षेत्र नम्बर १ 
जिल्लाको पूर्वी भेग पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । जिल्लाको रामपुर नगरपालिका, निस्दी, पूर्बखोला,रम्भा गाउँपालिका सबै र तानसेन नगरपालिकाको ८ नम्बर वडा, माथागढी गाउँपालिकाको १ नम्बर वडा बाहेक सबै र तिनाउ गाउँपालिकाको ५ नम्बर वडा समेटिएको छ । जसमा ३७ वटा वडा समेटिएको छ । पाल्पा १ मा अधिकांश आदिवासी जनजाति समुदाय त्यसमा पनि मगर समाजको बाहुल्यता रहेको छ । यहाँ मुख्य गरी रामपुर बजार नै प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यले नेपाली काँग्रेसका ज्ञान बहादुर गाहालाई पराजित गरी विजयी हुनुभएको थियो । आचार्यले ३१ हजार १०३ मत ल्याई विजयी  हुँदा गाहाले २० हजार २५६ मत ल्याउनुभएको थियो । सोही स्थानमा बिपिन कडेलले स्वतन्त्र उम्मेदवारी दिई २ हजार ८६३ ल्याई तेस्रो हुनुभएको थियो । 

अहिले यहाँ नेकपा एमालेबाट पुनः  नारायण प्रसाद आचार्य, नेपाली काँग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिस्ट पार्टीबाट हुमबहादुर सुनारी,राष्ट्रिय स्वतन्त्र पार्टीबाट  बिमल पन्त, ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, ,राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, नेकपा माओवादीबाट पुरन गैर्हे शर्मा, नेशनल मंगोल अर्गनाईजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिं रेश्मी उम्मेदवार हुनुहुन्छ भने कोशल अर्याल,डिल्लिराज काफ्ले,युद्ध बहादुर बिरकट्टा र बाछादलि मियाँ स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा हुनुहुन्छ । 

पाल्पा निर्वाचन क्षेत्र नम्बर २
जिल्लाको पश्चिमी भेग सहितको भाग समेटेर पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बनाइएको छ । जिल्ला सदरमुकाम तानसेनको मुख्य बजार यही क्षेत्रमा पर्दछ ।  तानसेन नगरपालिकाको ८ नम्बर वडा बाहेक सबै यस क्षेत्रमा पर्दछ। यहाँ बगनासकाली,रिब्दीकोट,रैनादेबी छहरा गाउँपालिका पर्दछन् । भने तिनाउ गाउँपालिकाको ५ नम्बर वडा बाहेक सबै त्यस्तै माथागढी गाउँपालिकाको १ नम्बर वडा यस क्षेत्रमा पर्दछ ।  जसमा ४४ वटा वडा समेटिएका छन् । 

यहाँ प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेकपा एमालेका ठाकुर प्रसाद गैरेले तत्कालिन नेकपा एकिकृत समाजवादीका सोम प्रसाद पाण्डेलाई पराजित गर्नुभएको थियो । तत्कालिन अवस्थामा नेपाली काँग्रेसको समर्थनमा पाण्डे उम्मेदवार बन्नुभएको थियो । जहाँ एमालेका गैरेले २८ हजार ६४५ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादीका पाण्डेले २४ हजार ८९९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोम प्रसाद गैरेले ५ हजार ३४९ ल्याई तेस्रो हुनुभएको थियो । 

अहिले यहाँ नेकपा एमालेबाट पुनः ठाकुर प्रसाद गैरे, नेपाली काँग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट सोम प्रसाद पाण्डे, ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधव बहादुर थापा, ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुल बहादुर कुवर, राष्ट्रिय जनमोर्चाबाट बल बहादुर दर्लामी, नेकपा माओवादीबाट बिष्णु बहादुर ठडराई, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोघराज जैसी, सार्वभौम नागरिक पार्टीबाट राम बहादुर अस्लामी, मंगोल नेशलन अर्गनाईजेसनबाट मन बहादुर दर्लामी,नेशनल रिपब्लिक नेपालबाट देब प्रसाल श्रेष्ठ, ,राष्ट्रिय जनमुक्ति पार्टीबाट टोप बहादुर अस्लामी, जसपाबाट खिक बहादुर रेश्मी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्व दलगत रूपमा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै स्वतन्त्र रूपमा केशव प्रसाद बस्याल र मोहन थापाले पनि प्रतिस्पर्धा गर्दे हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button