हिउँले सेताम्मे बडिमालिका, स्वर्ग झैँ मनमोहक दृश्य (फोटो फिचर)
बाजुरा । बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका क्षेत्र यतिबेला हिउँको सेतो आवरणले ढाकिएको छ । विगतका वर्षहरूभन्दा यस वर्ष ढिला गरी माघको दोस्रो सातामा परेको हिमपातले बडिमालिका मन्दिर आसपासका अग्ला डाँडा, खुला पाटन र भिरालो भूभाग सेताम्मे बनेका छन् । चारैतिर फैलिएको हिउँको चादरले बडिमालिका क्षेत्रलाई अझै आकर्षक र मनमोहक बनाएको छ ।

समुद्र सतहबाट करिब २ हजारदेखि ४ हजार २ सय मिटर उचाइमा अवस्थित बडिमालिका क्षेत्र धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण पनि परिचित छ । हिमपातपछि मन्दिर क्षेत्र वरपर देखिने सेताम्मे पाटन, टल्किँदो हिउँ र खुला आकाशले यहाँको दृश्यले स्वर्गझैँ अनुभूति गराइरहेको छ । टाढाबाट देखिने हिमाल, सेताम्मे डाँडाकाँडा र शान्त वातावरणले जो–कोहीलाई मोहित बनाउने गरेको स्थानीयको भनाइ छ।

हरेक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीसम्म चल्ने जनैपूर्णिमा मेलाका बेला बडिमालिकामा हजारौँ श्रद्धालु तथा तीर्थयात्रीको भीड लाग्ने गर्दछ । धार्मिक महत्व बोकेको यो क्षेत्र हिमपातपछि झनै रमणीय बनेपछि आन्तरिक पर्यटक तथा प्रकृति प्रेमीहरूको पनि ध्यान तान्ने गरेको छ ।

हिउँले ढाकिएको बडिमालिका क्षेत्रका दृश्यहरूले न केवल धार्मिक आस्थालाई बलियो बनाएको छ, प्राकृतिक सौन्दर्यको अनुपम उदाहरणका रूपमा पनि चर्चामा आइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्