तपाईँ सुन्दै हुनुहुन्छः

जहाँ माटोका घर थिए, त्यहाँ अब सिमेन्टका पर्खाल

बाजुरा। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका परम्परागत घरहरूको अस्तित्व पछिल्लो समय सङ्कटमा पर्दै गएको छ।

विशेषगरी बाजुरामा इतिहास र पहिचान बोकेका माटो, ढुङ्गा र काठले बनेका पुराना शैलीका घरहरू क्रमशः हराउँदै गएका छन्।

बजारीकरण र आधुनिकतासँगै पक्की घर निर्माणको लहर तीव्र बन्दै जाँदा पुराना संरचनाहरू विस्थापित हुँदै गएका हुन्। स्थानीयवासीका अनुसार बजार क्षेत्रमा मात्र नभई गाउँघरमै पनि नयाँ बन्ने घरहरू प्रायः इँटा, सिमेन्ट र सरियाबाट निर्माण हुन थालेका छन्।

बडिमालिका नगरपालिका–९ का जस बहादुर विकका अनुसार पछिल्लो समय बजार क्षेत्रमा आधुनिक भवन निर्माण तीव्र रूपमा बढेको छ। “अहिले इँटा, सिमेन्ट र सरियाले बनेका घरहरू धेरै बन्न थालेका छन्, जसले परम्परागत गाउँको स्वरूप नै बदलिदिएको उहाँको भनाइ छ।

जिल्लाका नौवटै स्थानीय तहका केन्द्रहरू तथा सदरमुकाम मार्तडी, बाम्का, फालासैन, तांप्रीसेरा, जडाङ्गा, कोल्टी र पिलुचौर क्षेत्रमा पुराना घरहरू देख्नै मुस्किल भइसकेको छ। पहिले गाउँको पहिचान झल्काउने कच्ची घरहरू अहिले आधुनिक भवनले प्रतिस्थापन गरिरहेका छन्।

विशेषज्ञहरूका अनुसार परम्परागत घरहरू केवल बसोबासका लागि मात्र नभई स्थानीय संस्कृति, जीवनशैली र इतिहासको महत्वपूर्ण धरोहर हुन्। तर, सुरक्षित र टिकाउ आवासको खोजी, आधुनिक सुविधा तथा सामाजिक प्रतिष्ठासँग जोडिएको सोचका कारण पुराना घरप्रति आकर्षण घट्दै गएको देखिन्छ।

यसरी परम्परागत संरचनाहरू हराउँदै जाँदा गाउँको मौलिकता र सांस्कृतिक पहिचानसमेत सङ्कटमा परेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button