नमुना सहरको सपना, रित्तिँदै गाउँ : विकासको प्रतीक्षामा पाटन
बैतडी। पाटन नगरपालिका आसपासका गाउँहरू यतिबेला बिस्तारै रित्तिँदै गएका छन् ।

बाहिरबाट हेर्दा हरियाली खेतबारी र मिलेको बस्तीले सुन्दर देखिए पनि गाउँभित्रको वास्तविकता भने फरक छ । रोजगारीको अभाव, आधारभूत पूर्वाधारको कमी, शिक्षा र स्वास्थ्य सेवाको असहज पहुँचका कारण स्थानीय बासिन्दा गाउँ छाडेर तराई तथा सहरतर्फ बसाइँसराइ गरिरहेका छन् ।
पाटनलाई सरकारले आर्थिक वर्ष २०६६/०६७ मा देशका १० नमुना सहरमध्ये एकका रूपमा घोषणा गरेको थियो । नमुना सहर बनेपछि यहाँ व्यवस्थित बसोबास, सडक सञ्जाल, खानेपानी, ढल निकास, स्वास्थ्य संस्था, आधुनिक बजार र रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको थियो । तर घोषणा भएको डेढ दशक बितिसक्दा पनि अधिकांश योजना कागजमै सीमित बनेका छन् ।

पाटनसँग जोडिएका मेल्टडा, बेडौती, लोखाड, टुनौगैर, पौडी लगायतका गाउँमा अहिले घरहरू खाली हुँदै गएका छन् । मेल्टडा गाउँका स्थानीय दानबहादुर चन्दका अनुसार पहिले करिब ३५ परिवार बसोबास गर्ने गाउँमा अहिले १४ परिवार मात्रै बाँकी छन् । धेरै परिवार बसाइँसराइ गरेर तराई झरेका छन् ।स्थानीयका अनुसार गाउँमा सडकको सहज पहुँच छैन ।खानेपानी र सिँचाइको समस्या पुरानै छ ।

खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ भने सामूहिक कामसमेत प्रभावित हुन थालेको अर्का स्थानीय सान्ती चन्दले बताउनुभयो । गाउँमा जनसङ्ख्या घट्दै जाँदा मलामी र जन्तीसमेत जुटाउन कठिन हुन थालेको चन्दको भनाइ छ ।
नयाँ सहर नजिकैको बेडौती गाउँको अवस्था पनि उस्तै छ । पहिले करिब २० परिवार रहेको गाउँमा अहिले ६ परिवार मात्रै बाँकी रहेको स्थानीय लब्बु चन्द बताउनुहुन्छ । वर्षेनी एक–दुई परिवार गाउँ छाड्दै गइरहेको उहाँले बताउनुभयो ।

पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्र बिष्टका अनुसार युवाहरू रोजगारीको खोजीमा बाहिरिन थालेपछि गाउँ खाली हुँदै गएको हो । पहाडी क्षेत्रमा आयआर्जनका अवसर कम भएकाले साना व्यवसाय गर्न र परिवार पाल्नकै लागि धेरैजना तराईतर्फ गएको उहाँले बताउनुभयो ।

वडा कार्यालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा मात्रै वडा नम्बर ६ बाट १५८ परिवार बसाइँसराइ गरिसकेका छन् । तीमध्ये १३४ परिवार पछिल्लो पाँच वर्षभित्रै बाहिरिएका हुन् । यसले पछिल्ला वर्षहरूमा बसाइँसराइको दर तीव्र बनेको देखाउँछ ।

स्थानीयवासीले नमुना सहर आयोजनाले अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् । खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काम प्रभावकारी रूपमा अघि नबढ्दा गाउँमा बस्ने वातावरण कमजोर बनेको उनीहरूको भनाइ छ ।
सरकारले नमुना सहरका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्दै व्यवस्थित बसोबास, ढल निकास, फोहोर व्यवस्थापन केन्द्र, आधुनिक अस्पताल, विद्युतिकरण, खेलमैदान र बजार विस्तारका योजना अघि सारेको थियो । तर अधिकांश योजना अधुरै छन् ।

नमुना बसपार्क, मनोरञ्जन पार्क लगायतका संरचना निर्माण भए पनि पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । कतिपय संरचना जीर्ण बन्दै गएका छन् । फोहोर व्यवस्थापन केन्द्र निर्माणको कामसमेत अघि बढ्न सकेको छैन ।
योजना कार्यान्वयनको मुख्य आधार मानिएको ‘ल्याण्ड पुलिङ’ अर्थात् जग्गा एकीकरणको काम पनि अझै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । स्थानीयसँग छलफल भइरहे पनि कार्यान्वयनमा ढिलाइ हुँदा व्यवस्थित सहरीकरणको लक्ष्य पूरा हुन सकेको छैन ।
स्थानीय अगुवाहरूका अनुसार सरकारबाट पर्याप्त बजेट विनियोजन नहुँदा र योजना कार्यान्वयनमा निरन्तरता नपाउँदा नमुना सहरको अवधारणा कमजोर बनेको हो । अहिले नयाँ सहर आयोजनाको कार्यालयसमेत सहरी विकास तथा भवन निर्माण आयोजनामा गाभिएको छ ।

चालु आर्थिक वर्षमा नयाँ सहर आयोजनाका लागि सीमित बजेट मात्रै विनियोजन भएको बताइएको छ । यसले दीर्घकालीन योजनाहरू थप प्रभावित बन्ने देखिएको छ ।

नमुना सहरको परिकल्पनासँगै विकासको ठूलो सपना देखेका स्थानीय अहिले भने गाउँ रित्तिँदै गएको दृश्य हेर्न बाध्य छन् । गाउँमा विकासको अनुभूति नभएपछि बसाइँसराइ रोक्ने चुनौती झन् जटिल बन्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्