तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र सुदृढीकरणका लागि पारदर्शी निर्वाचन प्रणाली आवश्यक

काठमाडौँ । निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनु आवश्यक रहेको बताउनुभएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँहरूले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र तुल्याउन निर्वाचन पर्यवेक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो ।

छलफलमा आयुक्त डा. तुलाधरले निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र नभइ जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम समेत भएको उल्लेख गर्नुभयो ।

आम मतदाताको विश्वास कायम राख्न कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो ।

पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

आयुक्त डा. तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न सुझाव समेत दिनुभयो ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान ,निर्वाचन कानून र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट रुपमा जानकारी राख्नुपर्ने बताउनुभयो ।

विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुहुँदै उहाँले यस पटक पनि सोही बमोजिम काम हुनेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

आयुक्त जबराले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नको लागि पर्यवेक्षकहरूले पनि निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै पर्यवेक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button