गाईघाटमा राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप हुँदै
उदयपुर। उदयपुर सदरमुकाम गाईघाटमा राष्ट्रियस्तरको एन्फा महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा गाईघाटस्थित थरुहट रङ्गशालामा आगामी फागुन १ गतेदेखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा आयोजक गाईघाट महिला टोलीसहित देशभरका १० उत्कृष्ट महिला फुटबल टिमको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा गाईघाट, न्युरोड काठमाडौँ, एफसी रिएल, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, आरएस रिसोर्स, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, छाहरी वाइसी र सङ्कटा क्लब काठमाडौँ रहेका छन् ।
एन्फाका महासचिव किरण राईले बिहीबार थरुहट रङ्गशालाको स्थलगत निरीक्षण गर्दै पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गर्नु भएको हो । उहाँले पछिल्लो समय नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको अवस्थामा खेलाडीहरूको क्षमता अभिवृद्धि र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले उदयपुरमा यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।
सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल फागुन १ गते आयोजक गाईघाट र न्युरोड काठमाडौँबिच हुनेछ । नौ दिनसम्म चल्ने प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्ने आयोजक एन्फाले जनाएको छ ।
स्थानीयस्तरमा राष्ट्रिय प्रतियोगिता आयोजना हुनुले उदयपुरमा खेलकुद गतिविधि थप सक्रिय हुने, महिला फुटबलप्रति युवतीहरूको आकर्षण बढ्ने तथा खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्