तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप फुटबल: सेनेगललाई हराउँदै नर्वे विश्वकपको नकआउट चरणमा

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । 

photo: RSS/AFP

न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे । 

यता सेनेगलका लागि भने इस्माइला सारले दुई गोल गरे । खेलको ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए । त्यस्तै नर्वेका अर्का खेलाडी एर्लिङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । 

त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि खेलको ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता तेब्बर बनाए । 

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किन कोसिस गरेपनि सफल हुन सकेनन । त्यसपछि खेलमा गोल हुन सकेन र नर्वेले सेनेगलमाथि ३–२ गोलको जित निकाल्यो ।

यस जितसँगै नर्वे छ अङ्कसहित समूह ‘आइ’ को दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अङ्कविहीन छन् ।

आज बिहान सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणामा प्रवेश गरेको थियो । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button