तपाईँ सुन्दै हुनुहुन्छः

चिया, संस्कृति र आतिथ्य: ६८ वर्षीय गुरुङको गाउँमै आत्मनिर्भर बन्ने कथा

इलाम । करिब ४० वर्ष लामो जागिरे जीवनपछि सेवा निवृत्त भएका इलामका नरेन्द्र गुरुङ अहिले आफ्नै गाउँमा होमस्टे सञ्चालन गर्दै आएका छन्।

६८ वर्ष उमेर पुगेका गुरुङ पुर्ख्यौली पेशा कृषिसँगै ग्रामीण पर्यटनलाई जोडेर आत्मनिर्भर बन्ने प्रयासमा छन्। गाउँबाट सहर र विदेशतर्फ पलायन बढिरहेका बेला उनले भने गाउँमै सम्भावना देखेर यही पेशा रोजेको बताएका छन्।

गुरुङका अनुसार उनका बुबा–बाजे र बाजेका पुस्तादेखि नै कृषि कर्ममा संलग्न परिवार भएकाले उनले पनि सेवा निवृत्तिपछि त्यही जगमा टेकेर नयाँ यात्राको सुरुवात गरे। “यहाँ गाउँमै भविष्य छ। विदेशी मोह र सहरको आकर्षण त्यागेर यो पेशा अपनाएकोमा म खुसी छु,” उनी भन्छन्, “सम्भावनाको खानी त गाउँ नै हो, तर हामीले अझै राम्रोसँग चिनाउन सकेका छैनौँ।”

उनको होमस्टेमा हाल बंगाली, चिनियाँ, फ्रेन्च र जर्मनीलगायत विभिन्न मुलुकका पर्यटकहरू आउने गरेका छन्। अधिकांश पर्यटक तीन–चार दिन बिदा मनाउन यहाँ बस्ने गरेको उनले बताए। प्राकृतिक वातावरण, स्थानीय परिकार, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीले पाहुनालाई आकर्षित गर्ने गरेको गुरुङको अनुभव छ।

उनले नेपालमा कृषि विकास अपेक्षित रूपमा अघि बढ्न नसकेकोप्रति चिन्ता पनि व्यक्त गरे। कृषिमा संलग्न व्यवसायीहरूसँग सरकारले आवश्यक समन्वय नगरेको, नीति–कार्यक्रम व्यवहारमै प्रभावकारी हुन नसकेको उनको गुनासो छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, प्राविधिक सहयोग बढाउने र पर्यटनसँग कृषि समेट्ने हो भने गाउँमै ठुलो सम्भावना रहेको उनी बताउँछन्।

स्थानीयवासीहरूका अनुसार नरेन्द्र गुरुङको परिवार तीन पुस्ताअघिदेखि नै समाजसेवामा सक्रिय रहँदै आएको छ। कृषिको उन्नयन, गाउँको विकास र समुदायको हितका लागि उनले खेलेको भूमिकालाई गाउँलेहरूले खुलेर प्रशंसा गरेका छन्। स्थानीय किसानलाई आधुनिक खेती प्रणालीतर्फ प्रेरित गर्ने, पर्यटकलाई स्थानीय कृषि उत्पादनसँग परिचित गराउने र गाउँको पहिचान बढाउने काममा उनको ठुलो हात रहेको स्थानीयको भनाइ छ।

गुरुङका अनुसार इलामको चियालाई अझै अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धेरै काम गर्न बाँकी छ। यही उद्देश्यले उनले आफ्नो होमस्टेमा आउने स्वदेशी तथा विदेशी पाहुनालाई चिया खेती, पत्ती टिप्ने तरिका र प्रशोधन प्रक्रियाबारे जानकारी दिने गर्छन्। गुरुङले पाहुनालाई चिया बगानमै लगेर चिया पत्ती टिप्ने प्रक्रिया देखाउने मात्र होइन, त्यसपछि ती पत्ती हातले मिचेर ९हाते तरिकाले प्रशोधन गरेर० सुकाउने र चिया बनाउन प्रयोग गर्ने तरिका पनि सिकाउने गर्छन्। अन्त्यमा पाहुनाले आफैँ तयार पारेको चिया घर लैजान सकुन् भनेर कोसेलीका रूपमा दिने गरिएको छ।

कृषि र पर्यटन दुवै क्षेत्रलाई जोड्दै गाउँको पहिचान विश्वसामु पुर्‍याउने लक्ष्यसहित अघि बढेका गुरुङको प्रयासले इलामको ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विभिन्न देशहरूको भ्रमणका क्रममा सिकेका सीप र अनुभवलाई अहिले आफ्नै गाउँको पर्यटन प्रवर्द्धनमा प्रयोग गरिरहेको गुरुङ बताउँछन्। विदेशमा देखेको आतिथ्य सेवा, पर्यटक व्यवस्थापन र स्थानीय उत्पादनको ब्रान्डिङको अभ्यासलाई होमस्टे सञ्चालनमा उतारेपछि आफू यस क्षेत्रमा सफल बन्दै गएको उनको भनाइ छ।

कृषि र पर्यटन दुवै क्षेत्रलाई जोड्दै गाउँको पहिचान विश्वसामु पुर्‍याउने लक्ष्यसहित अघि बढेका गुरुङको प्रयासले इलामको ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button