तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश स्तरीय गाउँ पर्यटन मार्ट २०८३ बन्दीपुरमा हुने

पोखरा । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “गाउँ पर्यटन मार्ट २०८३” यस वर्ष तनहुँको बन्दीपुरमा हुने भएको छ । आगामी वैशाख १८ र १९ गते बन्दीपुरमा उक्त कार्यक्रम आयोजना हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । उक्त गण्डकी प्रदेश स्तरीय गाउँ पर्यटन मार्ट २०८३ मा गण्डकी प्रदेशका सामुदायिक होमस्टे, पर्यटकीय कृषि फार्म (फार्म स्टे), पर्यटन सम्बद्ध कम्पनी तथा गैरसरकारी संस्थाहरूको सहभागिता हुने प्रमुख लामिछानेले जनाउनुभयो ।

कार्यक्रममा सहभागी हुन इच्छुक संस्थाहरूलाई सूचीकरणका लागि आवेदन दिन आह्वान गरिएको छ । आवेदन दिने अन्तिम मिति २०८२ चैत १५ गते कार्यालय समयभित्र तोकिएको छ । आवेदन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरामा वा इमेलमार्फत समेत पठाउन सकिने जनाइएको छ ।

आवेदनका लागि संस्था, फर्म वा कम्पनी दर्ता प्रमाणपत्र (नवीकरणसहित), स्थायी लेखा नम्बर प्रमाणपत्र तथा आर्थिक वर्ष ०८१/०८२ को कर चुक्ता प्रमाणपत्र आवश्यक पर्नेछ। नयाँ दर्ता भएका संस्थाहरूको हकमा कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने बताइएको छ । गाउँ पर्यटन मार्टको चौथो संस्करण यस वर्ष तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा आयोजना गर्न लागिएको हो । बन्दीपुरमा हाल सञ्चालन भइरहेको ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ लाई समेत थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

पोखरामा लगातार तीन वर्ष आयोजना भएको उक्त मार्ट यसपटक नयाँ ग्रामीण गन्तव्यलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बन्दीपुरमा गर्न लागिएको हो । यसअघि पोखरामा आयोजना भएको संस्करणमा गण्डकी प्रदेशका २८ वटा होम स्टे र पर्यटन गन्तव्यका रुपमा बन्दीपुर र कोशी प्रदेशको प्रतिनिधित्व समेत रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button