राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री अर्याल सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, सरकारले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्युनिकरण तथा जीविकोपार्जनका लागि हरित जलवायु कोषबाट प्राप्त हुने २ करोड ४२ लाखभन्दा बढी सहयता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपालमा हिमताल विस्फोट तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्युनिकरण, जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममार्फत हरित जलवायु कोषबाट प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४ सय २७ बरावरको अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय गरेको सकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।
त्यसैगरी, सरकारले युद्ध प्रभावित पश्चिमी एशियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीहरूलाई तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पहल थाल्ने निर्णय गरेको छ ।
गृहमन्त्री अर्यालले नेपाली राजदूतावासहरू रियाद, आबुधावी, दोहा, कुवेत, मस्कट, इस्लामावाद, कायरो र तेलअविवमा रहेका दूतावास र महावाणिज्यदूतावासले उद्धार तथा राहतको लागि पहल गर्ने निर्णय भएको बताउनुभयो ।
यस्तै गृहमन्त्री आर्यालले जेनजी प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी सरकारले ग्रहण गर्ने निर्णय भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्