तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ संघीय सरकारबाट संवैधानिक अधिकार कार्यान्वयन हुने विश्वास : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदान अधिकारहरू नयाँ बन्ने संघीय सरकारले पूर्ण रुपमा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । 

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको पाँच तल्लाका प्रहरी कार्यालय, ब्यारेक तथा भान्सा घरको आज जनकपुरधाममा शिलान्यास गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले प्रधानमन्त्री बन्न लाग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुरधाममा घोषणा गर्नु भएबमोजिम संविधानले प्रदान गरेको संवैधानिक अधिकारहरू प्रदेश सरकारलाई पूर्ण रुपमा हस्तान्तरण हुने आशा व्यक्त गर्नु भयो । 

मुख्यमन्त्री यादवले प्रदेशहरू पूर्ण रुपमा अधिकार सम्पन्न बनाउने घोषणा कार्यान्वयन हुने ठाउँमा शाह पुग्न लाग्नु भएकाले प्रदेश सरकार मातहत प्रहरी तथा निजामती कर्मचारी चाडै आउने आशा व्यक्त गर्नु भयो । 

उहाँले मधेश प्रदेश प्रहरीलाई सुविधा सम्पन्न प्रहरी सङ्गठन बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै प्रहरीका लागि विनियोजन भएको रकमको काम समयमा नै सम्पन्न गर्नका लागि आग्रह गर्नु भयो । उहाँले थप काम गर्न चाहेको खण्डमा प्रदेश सरकारले सहयोग गर्नका लागि पूर्ण रुपमा नै तयार भएको बताउनु भयो । 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मन्त्रालयमा रहेको बजेट मध्ये ८० देखि ९० प्रतिशत बजेट सुरक्षा निकायमा नै लगानी गर्ने गरि मन्त्रालयले बजेट विनियोजन गरेको बताउनु भयो । 

उहाँले मन्त्रालयमा चालु आर्थिक वर्षका लागि ७२ करोड बजेट रहेको बताउँदै प्रहरीलाई आधुनिक तथा सुविधा सम्पन्न बनाउनका लागि धेरै बजेटहरू विनियोजन गर्ने काम भएको बताउनु भयो । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले प्रहरी लागि बन्ने नयाँ सुविधा सम्पन्न ब्यारेक सहितको संरचनाले प्रहरीको मनोबल बढाउने विश्वास व्यक्त गर्नु भयो । 

पाँच तल्लाको सो भवनको निर्माणका लागि १५ करोड ५१ लाख २२ हजार ३ सय २९ रुपैयाँमा लगत ईष्टिमेट सहित ठेक्का भएकोमा ललितपुरका एमएस तुलसी भक्त कन्ट्रक्सन प्राइभेट लिमिटेडले ११ करोड ४ लाख ५३ हजार ७ सय १२ रुपैयाँ ५१ पैसामा १८ महिनामा निर्माण गर्ने गरि सम्झौता गरेको छ । भवनको सबै तल्ला गरेर ३ हजार १ सय ८६ प्वाइन्ट १ स्क्वायरफिटमा बन्नेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button