चितवनमा निर्वाचनको तयारी तीव्र, दलहरू मत माग्न व्यस्त
चितवन। यही आउँदो फागुन २१ हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको तयारी देशभर भइरहेको बेला चितवनमा पनि यसको तयारी तीव्र पारिएको छ।

यसैक्रममा उम्मेदवारलाई मतदातासमक्ष आफ्ना चुनावी प्रतिबद्धता बताउँदै मत माग्नमा व्यस्त छन् । दल र तिनका उम्मेदवार जुन तरिकाले तयारीमा लागेका छन्, निर्वाचन कार्यालय पनि सोही गतिमा सहज वातावरणमा निर्वाचन सम्पन्न गराउने तयारीमा जुटिरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लाभरको १६२ मतदानस्थलका ४९४ वटा मतदान केन्द्र व्यवस्थापनको तयारी गरिरहेको निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा निर्वाचन केन्द्रमा तीन जना स्वयम् सेवकसहित नौ जना कर्मचारी खटिने छन् । यसैलाई आधार मान्दा जिल्लाभर करिब साढे चार हजारको सङ्ख्यामा कर्मचारी खटिने छन् ।
अघिल्लो निर्वाचनमा जम्मा ४६० मतदान केन्द्र रहेकोमा यसपटकको निर्वाचनमा ३४ मतदान केन्द्र थप गरिएको छ । गत असोज १० यताको विवरणअनुसार चितवनमा २० हजार ६९० जना नयाँ मतदाता थपिएकाले निर्वाचनलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि सक्दो प्रयास गरिरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
त्यसबाहेक, करिब तीन हजारभन्दा बढीको सङ्ख्यामा अस्थायी मतदाता छन् । तिनका लागि भरतपुर कारागारमा मतदान केन्द्र तोकिएको छ । यस पटक दुई ठाउँमा अस्थायी मतदान केन्द्र हुने भए पनि हालसम्म कारागारबाहेक अर्को मतदान केन्द्रको टुङ्गो लागेको छैन । अस्थायी मतदान केन्द्रबाट सेना, प्रहरी तथा शिक्षक, कर्मचारीले समानुपातिकतर्फ मतदान गर्छन् । त्यसका लागि हाल कर्मचारीको विवरण सङ्कलन भइरहेको निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
चितवन जिल्लामा निर्वाचन कार्यालयको पछिल्लो विवरणअनुसार दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला गरी कुल चार लाख ४२ हजार ८२ जना मतदाता छन् । तीमध्ये क्षेत्र न-१ बाट ५६ मतदानस्थलको १६८ मतदान केन्द्रमा ७३ हजार ७६१ पुरुष र ७५ हजार ८६० महिला गरी एक लाख ४९ हजार ६२१ मतदाताले मतदान गर्नेछन् ।
४३ मतदानस्थलको १५२ मतदान केन्द्र रहेको क्षेत्र न-२ बाट ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला गरी एक लाख ३७ हजार १५२ मतदाताले मतदान गर्नेछन् । यस्तै, ६३ मतदानस्थलको १७४ मतदान केन्द्र रहेको क्षेत्र न-३ बाट ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला गरी एक लाख ५५ हजार ३०९ जनाले मतदान गर्नेछन् । यसबाहेक, क्षेत्र न-२ र ३ मा एक/एक जना अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक)ले पनि मतदान गर्नेछन् ।
एउटा गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको चितवनमा सबै मतदान केन्द्रमा पाँच सयभन्दा बढी मतदाता रहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्