बाल मन्दिर प्रतिभा सुपर कप क्रिकेटको सेमिफाइनलमा
पोखरा । पोखराको बाल मन्दिर मावि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट सङ्घको प्राविधिक सहयोग तथा समन्वयमा पोखरामा जारी प्रतियोगिता अन्तर्गत बाल मन्दिरले मङ्गलवार भएको आफ्नो दोस्रो खेलमा डायमन्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै ४ अङ्कसहित सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा बाल मन्दिरले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत मङ्गलवारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मङ्गलवारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको एक÷एक जित भएकाले अब सेमिफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।
टस जितेर डायमन्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बाल मन्दिरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनायो । बाल मन्दिरका लागि अभिषेक क्षेत्रीले २० रन, सुमन अधिकारीले १५ र श्री निवास कठायतले १४ रनको योगदान दिनुभयो । डायमन्डका मिलन पौडेलले ४ विकेट तथा सुशांक तिवारीले १ विकेट लिन सफल हुनुभयो ।
१२७ रनको लक्ष्य पछ्याएको डायमन्ड मावि १३.३ ओभरमा सबै विकेट गुमाएर केवल ५६ रनमा समेटियो । बाल मन्दिरका बलरहरूसामु निरीह देखिएका डायमन्डका लागि अविरल पोखरेलले सर्वाधिक ३१ बलमा ३२ रन बनाउनुबाहेक अन्यको ब्याट चल्न सक्नुभएन । बाल मन्दिरका सुमन अधिकारीले ६ विकेट तथा श्री निवास कठायतले २ विकेट लिन सफल हुनुभयो । सो खेलमा ब्याटिङमा १५ रन तथा ६ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
मङ्गलवारको दोस्रो खेलमा वाराही माविले नेपाल भारत मैत्री विद्यालयलाई ३४ रनले हरायो । टस जितेर नेपाल भारत मैत्रीले फिल्डिङ गरेपछि पहिले ब्याटिङमा उत्रिएको १८.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्यो । वाराहीका लागि ब्रिजेश भट्टराईले १९ रन, सक्सेल तिमिल्सिनाले १५ रन र अभिषेक अधिकारीले ११ रनको योगदान दिँदा नेपाल भारत मैत्री विद्यालयका रोशन अग्रवालले ५ विकेट र विराज गुप्ताले २ विकेट लिनुभयो ।
११० रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल भारत मैत्रीले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रन मात्रै बनाउँदा पहिलो खेलमै पराजय बेहोर्नु पर्यो । नेपाल भारत मैत्रीका क्याम्मुदिनले २३ रन र जरुण शर्माले १० रन जोडे । वाराही माविका विवेक सुनारले ५ विकेट तथा सविन विकले ३ विकेट लिनुभयो । सो खेलमा ५ विकेट लिएका विजयी वाराहीका खेलाडी विवेक सुनार प्लेयर अफ द म्याच घोषित भए ।
यसैबिच, प्रतियोगिता अन्तर्गत बुधवारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमन्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिस्पर्धामा उत्रिने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्