तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । 

चैनपुर–१० इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभयो । 

आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्यु भएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । उहाँका अनुसार गाईबस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रूप लिएपछि शिवकुमारले लिलाप्रसादको छातीमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको हो । 

घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button