तपाईँ सुन्दै हुनुहुन्छः

आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैरसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ ।

यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठ वटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । 

आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रहनुभएका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उहाँले बताउनुभयो । 

काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च)अनुसार स्पष्टीकरण मागिएको हो । सो दफाअनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ । 

यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क)अनुसार स्पष्टीकरण सोधिएको हो । सो दफामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । सो दफाको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको हो ।

दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण)बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो । 

हालसम्म स्पष्टीकरण माग गरिएका आठ जनामध्ये खरेलले मात्र स्पष्टीकरण पेस गरेको आयोगका सहायक प्रवक्ता श्रीसले जानकारी दिनुभयो । खरेलले गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत गराइएको आयोगले जनाएको छ । 

आयोगले अखिल नेपाल फुटबल सङ्घ(एन्फा)लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले हालसम्म आयोगलाई स्पष्टीकरण पेस गरेको छैन । सरकार मातहतकै परिषद्ले समेत आयोगलाई समयभित्र स्पष्टीकरण पेस नगरेको हो ।

नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । बस्नेतले पनि हालसम्म स्पष्टीकरण बुझाउनुभएको छैन । 

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीलाई पनि माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क)बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उहाँले पनि आयोगलाई स्पष्टीकरण बुझाउनुभएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण)बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । यसको जवाफ पनि प्राप्त नभएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button