तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारणका पत्रकारहरूका लागि निर्वाचन केन्द्रित अभिमुखीकरण

काठमाडौँ I सार्वजनिक सेवा प्रसारण नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी आचारसंहिता र निर्वाचन कभरेजबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 

सिंहदरबारस्थित सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनमा आयोजना गरिएको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका समयमा आउन सक्ने भ्रामक र नकारात्मक सूचना रोक्न सबै सञ्चार माध्यमले तथ्यपरक जानकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता पालना र मतदाताको अधिकार सम्बन्धि सचेतना बढाउन सञ्चारकर्मीहरूलाई आग्रह गर्दै आधिकारिक स्रोतलाई मात्र विश्वास गर्न आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले सञ्चार माध्यमले निर्वाचनबारे नकारात्मक सन्देश दिने खालका सामग्री उत्पादन र प्रसारण गर्न नहुने भन्दै प्रेस काउन्सिल, विज्ञापन बोर्ड र साइबर ब्युरोमार्फत भ्रामक सूचना रोकथामका लागि कडा निगरानी गरिएको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले भयमुक्त चुनावको वातावरण निर्माण, आचारसंहिता पालनासम्बन्धी सचेतना र विश्वसनीय सूचना सम्प्रेषणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक सेवा प्रसारणले त्यसमा  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले सार्वजनिक सेवा प्रसारणले आफ्नो तटस्थता कायम राख्दै नागरिकका सरोकारका विषयलाई बढीभन्दा बढी  प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।

उहाँले, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी तथ्यपूर्ण विषयवस्तु प्रसारणमार्फत लोकतान्त्रिक मूल्य–मान्यतालाई स्थापित गर्ने गरी विषयवस्तु उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले स्वच्छ र निष्पक्ष निर्वाचनमा विज्ञहरूको मार्गदर्शन उपयोगी हुने तथा अभिमुखीकरण कार्यक्रमले प्रसारणलाई प्रभावकारी बनाउने हुँदा राष्ट्रिय हितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

रेडियो नेपालका समाचार महाशाखाका प्रमुख पवन प्याकुरेलले रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रविधिको प्रयोग गरी बढी भन्दा बढी निष्पक्ष र त्रुटिरहित ढंगले समाचार र कार्यक्रम प्रसारण गर्ने बताउनुभयो ।

अभिमुखी कार्यक्रममा निर्वाचन आयोगका सह प्रवक्ता कुलबहादुर जिसीले निर्वाचन आचार संहिता र सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समितिका सदस्यद्धय डाक्टर भूमि चापागाईँ र अनिता गुरुङले निर्वाचन कभरेजका बारेमा प्रशिक्षण दिनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता र निर्वाचन कभरेजबारे अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचार र कार्यक्रममा कार्यरत सम्पादक, संवाददाता, कार्यक्रम उत्पादक र प्रदेश र जिल्ला संवाददाताहरूको सहभागिता रहेको छ ।  

अभिमुखीकरण कार्यक्रम  भोलिसम्म सञ्चालन हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button