घरेलु श्रम : सम्मान नपाएको श्रमको कथा

सुनसरी । बिहानको घाम नउदाउँदै सुनसरीको बराह क्षेत्र नगरपालिका–बाँगेकी २० वर्षीया गौरी सरदार अर्काको घरको ढोका खोल्न पुग्नुहुन्छ। उहाँकाे झोलामा न अफिसको फाइल हुन्छ, न परिचयपत्र नै। हातमा हुन्छ त एउटा पुरानो कपडा र मनभित्र दिनभर नसकिने कामको सूची—भाँडा माझ्नु छ, कपडा धुनु छ, भान्सा सफा गर्नु छ, घर सफा गर्नु छ, करेसाबारी गोडमेल गर्नु छ।
साँझ फर्किँदा उहाँको शरीरले दिनभरि ठूलो काम गरेको थकान देखाउँछ। तर समाजको नजरमा उहाँ अझै पनि ‘केही नगर्ने’ मान्छे मै गनिनुहुन्छ। “तपाईं के काम गर्नुहुन्छ?” कसैले सोधिहाले, “म त त्यत्तिकै हो, केही काम गर्दिन,” गौरी मुस्कुराउँदै भन्नुहुन्छ। यो मुस्कानभित्र लुकेको छ एउटा यस्तो यथार्थ, जहाँ घरभित्र गरिने श्रमलाई श्रमकै रूपमा मानिँदैन।
गौरी दुई छोराछोरीकी आमा पनि हुनुहुन्छ। उहाँका श्रीमान्काे स्थायी रोजगारी छैन। कामको खोजीमा उहाँ भारत गएको धेरै भइसकेको छ, तर राम्रो काम पाएको खबर अझै आएको छैन। अहिले परिवार चलाउने मुख्य आधार गौरी नै हुनुहुन्छ। अर्काको घरमा घरेलु श्रमिक भएर कमाएको पैसाले उहाँले छोराछोरी हुर्काइरहनुभइरहेकाे छ। तर उहाँ आफैं भने यसलाई ‘काम’ मान्न तयार हुनुहुन्न।
“काम भनेको त बाहिर अफिस गएर १० बजेदेखि ५ बजेसम्म बसेर तलब लिएर गर्ने हो नि,” उहाँ भन्नुहुन्छ,“घरभित्र भाँडा माझ्ने, कपडा धुने, भान्सा गर्ने त के काम हो र? यो त बसिबियालो हो।”
गौरी मात्र होइन, उहाँका परिवारका चार दिदीबहिनी पनि अर्काको घरमा घरेलु श्रमिककै रूपमा काम गर्नुहुन्छ। उहाँका बुवा–आमा कृषि मजदुर हुनुहुन्छ। “दुई–चार पैसा कमाइन्छ, त्यसैले परिवार चल्छ,” उहाँ भन्नुहुन्छ।

जबदेखि उहाँ जान्ने हुनुभयाे, तबदेखि नै अर्काको घरमा काम गर्दै आएको स्मरण उहाँसँग छ। १५ वर्ष नपुग्दै उहाँको विवाह भयो। विवाहपछि पनि घरको आर्थिक अवस्था सुधार हुन सकेन, त्यसैले उहाँले यही कामलाई निरन्तरता दिइरहनुभइरहेकाे छ।
जहाँ–जहाँ उहाँ काम गर्नुहुन्छ, त्यहाँ उहाँलाई कामदारकै रूपमा लिइन्छ। “होच्याएर बोलाउँछन्, अराउँछन्—‘ओइ केटी, यसो गर, उसो गर’ भन्छन्,” उहाँ भन्नुहुन्छ, “यसलाई म नराम्रो मान्दिन। म त सानो काम गर्छु, यसमा सम्मान खोज्दिन।”
गौरीको यो आत्मस्वीकारले समाजमा घरेलु श्रमलाई कति हल्का रूपमा लिइन्छ भन्ने देखाउँछ। “हामीजस्ता मान्छेलाई सम्मानजनक काम कसैले दिँदैन। हाम्रो लागि त यस्तै भाँडा माझ्ने, घर सफा गर्ने काम नै ठीक छ,” उहाँ भन्नुहुन्छ।
काम गर्न जाने घरका मानिसहरूको व्यवहार पनि एउटै हुँदैन। “कसैले नामले बोलाउँछन्, कसैले नोकरजस्तो हेपेर,” उहाँ सुनाउँछिन्, “यसमा खासै वास्ता लाग्दैन।” घरेलु श्रमलाई श्रमकै रूपमा नमान्ने समाजमा हुर्किएकी गौरीले आफैंले आफ्नो कामलाई महत्वपूर्ण मान्नुभएकाे छैन। यही सोचका कारण घरेलु श्रमिकहरू घर चलाउने मुख्य आधार भएर पनि ‘केही नगर्ने’ जस्तै ठानिन्छन्।
गौरीको कथा एउटी युवतीको मात्र होइन, हजारौँ घरेलु श्रमिक महिलाहरूको साझा यथार्थ हो। जबसम्म गौरीजस्ता श्रमिकहरूले आफैंले गरिरहेको कामलाई “यो पनि एउटा महत्वपूर्ण काम हो” भनेर स्वीकार्दैनन्, तबसम्म समाजले घरेलु श्रमलाई श्रमको रूपमा मान्यता दिन झनै गाह्रो हुनेछ।
घरभित्रको यो अदृश्य श्रमले परिवार, समाज र अर्थतन्त्र चलाइरहेको छ। तर अझै पनि यो श्रमलाई न कामको मान्यता छ, न सम्मान नै।
गौरीको दैनिकीले अन्ततः यही प्रश्न छाडेर जान्छ—घरभित्र गरिने श्रम कहिलेसम्म ‘काम होइन’ भनेरै बाँचिरहने ?
सुनसरीको रामधुनी नगरपालिका बस्ने भुट्नी थारुकाे अवस्था पनि उस्तै छ । २४ वर्षदेखि सुत्केरी स्याहार्ने काम गर्दै आइरहनु भइरहेकी उहाँले यही कामबाट आफ्नो जीविकोपार्जन गर्दै आइरहनु भइरहेकाे छ।
भुट्नीले सुत्केरीलाई सफा गरिदिने, तेल मसाज गर्ने र शिशुको स्याहार–सुसार गर्ने काम गर्नुहुन्छ। तर यो कामका लागि उहाँले कुनै औपचारिक तालिम भने पाएकी छैनन्। उहाँका आमा–हजुरआमाले पनि यही काम गरेका थिए।
२५ वर्षअघि भुट्नीका श्रीमान्को मृत्यु भएपछि घरको सम्पूर्ण जिम्मेवारी अचानक उहाँको काँधमा आयो। पुर्ख्यौली सम्पत्ति केही थिएन, न त कुनै सीप। आफूले गर्न सक्ने काम त्यतिबेला उहाँलाई यही एउटामात्र लाग्यो।
“नातागोता र समाजले हेलाँ गरे पनि आफ्नो जीविकोपार्जन गर्न यही काम सुरु गरेँ,” भुट्नी भन्नुहुन्छ।
सुत्केरी स्याहार्ने कामलाई ‘फोहोर काम’ भनेर कतिपय आफन्त र छिमेकीले मुखै अगाडि खिसी गरेको तीतो अनुभव उहाँसँग छ। “भोकै सुतेका पल सम्झिँदा अहिले पनि आँखा रसाउँछ,” भुट्नी भन्नुहुन्छ, “जब पेट भोको हुन्छ, तब मात्रै मान्छेले कामको महत्त्व बुझ्छ। त्यसैले भोको बस्नु नपरेकाहरूलाई मेरो काम फोहोर र सानो जस्तै लाग्छ।”
नजिक–नजिक भए एक दिनमा दुई महिलासमेत स्याहार्न सक्नुहुन्छ उहाँ। अहिले एक महिना एउटी सुत्केरी स्याहारेबापत १७ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँउने गरेकाे उहाँ बताउनुहुन्छ। तर उहाँको कामबारे धेरैलाई थाहा नहुँदा कुनै महिना उहाँ खाली बस्नुपर्ने अवस्था पनि आउँछ।
उहाँ अझै १० वर्ष यो काम गर्न चाहनुहुन्छ। तर उहाँले गर्ने श्रमलाई नेपालको कानुनले श्रमको परिभाषाभित्र समेटे पनि व्यवहारमा उहाँको कामले सम्मान पाउन सकेको छैन। उहाँले काम त गर्छिन्, तर रोजगारदातासँग कुनै औपचारिक सम्झौता छैन।
सुनसरीकै ४० वर्षीया सीता कटुवाल पनि घरेलु श्रमिक हुनुहुन्छ। सीताले विगत १६ वर्षदेखि घरभित्रको काम गर्दै आइरहनुभइरहेकाे छ। “अहिले म दिनमा ३–४ वटा घरमा काम गर्छु,” उहाँ भन्नुहुन्छ, “तर मलाई अझै काम थोरै भएको जस्तो लाग्छ, म अझै गर्न सक्छु।”
घरेलु कामदारका रूपमा श्रम गरेर छोराछोरीको लालनपालन गर्न र घरपरिवार चलाउन उहाँले श्रीमान्लाई भरपूर सहयोग गरिरहनुभइरहेकाे छ। श्रीमान–श्रीमती दुवैले काम गरेर छोरालाई इन्जिनियरिङ र छोरीलाई बोर्डिङ स्कुलमा पढाइरहनु भइरहेकाे छ।
घरभित्रको काम भन्नेबित्तिकै आफन्त र छिमेकीले सुरुमा “अर्काको जुठो भाँडा माझ्ने” भनेर हेप्थे। “तर अहिले दुःख गरेर खाएकी छे, छोराछोरी पढाएकी छे भनेर धेरैले सराहना पनि गर्छन्,” सीता सुनाउँनुहुन्छ।
“यस्तै काम विदेशमा गएर गर्दा सम्मान हुन्छ, आफ्नै गाउँठाउँमा गर्दा हेपिन्छ,” उहाँ भन्नुहुन्छ, “मानिसहरूको सोच बदलिनुपर्छ।” आफूले गरेको श्रमले आफ्ना आवश्यकता पूरा गर्न र बच्चाहरूको भविष्य बनाउन सकेकोमा सन्तुष्ट भए पनि श्रमअनुसारको ज्याला र सम्मान नपाएकोमा उहाँलाई दुःख लाग्छ।
“समाजले घरभित्रको कामलाई काम नै नठानेकाले हामी घरेलु श्रमिक महिलाले उचित पारिश्रमिक र सम्मान पाउन सकेका छैनौँ,” उहाँ भन्नुहुन्छ, “हामीले गर्ने कामको पनि निश्चित पारिश्रमिक तोकिएको भए सहज हुन्थ्यो।”
देशमा सङ्घीयता लागू भएपछि अधिकारसम्पन्न सरकारका रूपमा स्थानीय सरकारहरू सञ्चालनमा छन्। नगरपालिका र गाउँपालिकाले रोजगार शाखा स्थापना गरेका छन्। सरकारले बेरोजगारको तथ्याङ्क सङ्कलन, स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण, रोजगार नक्साङ्कन तथा रोजगारीका अवसरको अभिलेख राख्ने जिम्मेवारी रोजगार संयोजकलाई दिएको छ। तर सुनसरीका कुनै पनि स्थानीय तहले सीता, भुट्नी र गौरीजस्ता महिलाले गर्ने श्रमलाई अझै सूचीकृत गरेका छैनन्।








प्रतिक्रिया राख्नुहोस्