तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रौटा अस्पतालको ३८ लाख हिनामिना प्रकरणमा पाँच जना पक्राउ

'नक्कली बैंक भौचर प्रयोग भएको खुलासा'

कपिलवस्तु। आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाख रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा हिनामिना भएको भन्दै उजुरी परे पछि अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई,चन्द्रौटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अमित पाण्डेय,अस्पतालको फार्मेसीका कर्मचारी रुक्सना खातुन,नेपाल बैंक लि.चन्द्रौटाका क्यासियर कमलप्रसाद भण्डारी र नेपाल बैंकको मणिग्राम शाखाका कार्यालय सहयोगी तथा तत्कालीन चन्द्रौटा शाखामा कार्यरत बिक्रम केसी पक्राउ परेका हुन् ।

उहाँहरूले अस्पतालको ३८ लाख ११ हजार ७ सय ७० रुपैयाँ हिनामिना गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले भने अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्री गरी सङ्कलन भएको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्ने भए पनि विभिन्न मितिका १२९ वटा नक्कली बैंक भौचर बनाएका थिए ।

पक्राउ परेकाहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । सरकारी अस्पतालको आम्दानी व्यवस्थापनमा संलग्न कर्मचारी र बैंक कर्मचारीबीच मिलेमतो भएको आशङ्कामा अनुसन्धान भइरहेको सिंहले बताए ।

अस्पतालको रकम हिनामिना भएको भन्दै शिवराज नगरपालिका वडा न-५ का अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button