कुपोषणको समस्या समाधानका लागि खाने बानीमा सुधार ल्याउन जरुरी: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा देखा परेको कुपोषणको समस्या समाधानका लागि प्रदेशवासीले खाने बानीमा सुधार ल्याउन जरुरी रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री यादवले मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा आज देखि धनुषाले लालगढमा शुरु भएको तीनदिने ‘मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ आज उद्घाटन गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।
उहाँले मधेसका प्रत्येक घरको भान्साघर व्यवस्थित गर्न सकेको खण्डमा कुपोषणको अवस्थामा ठूलो सुधार आउने आउने बताउँदै खाद्यान्न उत्पादनमा मधेश अगाडी भएपनि खाने बानी तथा तरिका नआएका कारणले सुपोषणको दृष्टिकोणले पछाडि भएको बताउनु भयो ।
उहाँले मधेसमा धेरै प्रकारको पोषणयुक्त खाद्यान्न खेतबारीमा भएपनि त्यसको सही प्रयोग गर्न नसकेका करणले मधेश प्रदेशमा कुपोषणको अवस्था भयावह भएको बताउनु भयो । मुख्यमन्त्री यादवले स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खानाको सही पहिचान र प्रयोगका विषयमा गृहिणीहरूलाई प्रशिक्षण दिनु पर्ने अवस्था सृजना भएको बताउनु भयो ।
मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले तीनदिने शिखर सम्मेलनले मधेसमा कुपोषणका कारण र यसको समाधानका विषयमा ठोस निर्णय भएर त्यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नु भयो ।
मधेस प्रदेश सरकारका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवका अनुसार सम्मेलनमा पोषण नीतिबारे विज्ञहरूबीच गहन संवाद गरी ठोस रणनीति बन्ने आशा व्यक्त गर्नु भयो । मधेशमा पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता जस्ता समस्याबाट पिडित हुनेहरूको संख्या अन्य प्रदेश भन्दा बढी भएको कारणले त्यसमा कमी ल्याउनका लागि पोषण सम्मेलन गरेको पोषण सम्पर्क अधिकृत विनोद यादवले जानकारी दिनु भयो ।
सम्मेलनमा प्रदेशका सबै पोषणसम्बद्ध सरकारी कार्यालयका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् र आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख तथा पोषण अधिकृतहरूको सहभागिता रहेको छ ।विज्ञहरूको सुझावका आधारमा प्रदेशको आगामी पोषण रणनीति तय गरिने मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्