गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति वितरण
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै १६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

नगरपालिका क्षेत्र भित्र सञ्चालित कक्षा ११ १२ तथा क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई वार्षिक शुल्क बराबरको छात्रवृत्ति उपलब्ध गराइएको हो ।
नगरप्रमुख गुरु प्रसाद भट्टराई निर्वाचित भएपछि गरिएको पहिलो निर्णय अनुसार शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ । नगरपालिकाले आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै शिक्षा क्षेत्रमा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ १२ का ८३ जना विद्यार्थीलाई प्रति विद्यार्थी ३ हजार ६ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै मालुङ्गा क्याम्पसका १३ जना विद्यार्थीले प्रति विद्यार्थी ८ हजार ४ सय रुपैयाँ तथा गल्याङ क्याम्पसका ७१ जना विद्यार्थीलाई प्रति विद्यार्थी १० हजार ८ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखा प्रमुख हिमाल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै नगरपालिकाले छात्रवृत्ति कार्यक्रम मार्फत आर्थिक अभावका कारण विद्यार्थीको पढाइ नरोकिने वातावरण निर्माण गर्नुका साथै सामुदायिक विद्यालय र क्याम्पसप्रति आकर्षण बढाउने, शिक्षामा समान अवसर सुनिश्चित गर्ने तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो ।
उक्त छात्रवृत्ति वितरण कार्यक्रममा सार्वजनिक मावि, शिवालय मावि, भानुभक्त मावि, कालिका मावि, शिशुकल्याण मावि, नरोदय मावि, जानकी मावि, ज्ञानोदय मावि, पकवादी मावी, गल्कोट मावि तथा नेपाल राष्ट्र माविका विद्यार्थी सहभागी रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्