कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन मन्त्रालय प्रतिबद्ध: मन्त्री चौधरी

काठमाडौँ I कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पु¥याइरहेको बताउँदै, राष्ट्रको जलस्रोत र विद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो ।
सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यवसायीकरणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी, नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्