तपाईँ सुन्दै हुनुहुन्छः

सीप र मेहनतले गाउँमै सफल उद्यम सञ्चालन गर्दै दुई महिला

रुकुम पूर्व  । बेरोजगारी र अवसरको अभावले गाउँका धेरै युवायुवती वैदेशिक रोजगारीका लागि बाहिरिने क्रममा छन् । तर रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का दुई महिलाले भने आफ्नै गाउँठाउँमा सीप र मेहनतका भरमा उदाहरणीय व्यवसाय खडा गर्नुभएको छ ।

साविक घरेलु तथा साना उद्योग विकास समिति, रुकुमबाट २०७३/०७४ मा सिलाई–कटाई तालिम लिएपछि सिस्ने गाउँपालिका–४ ढाँका निवासी प्रमिला बुढा घर्ती र दादिङ निवासी धनमाया बुढाले अहिले सदरमुकाम रुकुमकोटमा ‘दिदीबहिनी कटाई सिलाई उद्योग’ सञ्चालन गर्नुभएको छ ।

दुई वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको उक्त उद्योग अहिले स्थानीय बजारमा परिचित बन्दै गएको छ । महिलाहरूका लागि सामान्य सीप प्रशिक्षणले कसरी आत्मनिर्भर बन्ने बाटो खोल्न सक्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, प्रमिला र धनमाया ।

साविक रुकुम हुँदा २०७३÷०७४ सालमा घरेलु तथा साना उद्योग विकास समितिले सञ्चालन गरेको सिलाई–कटाई तालिममा सहभागी भएपछि आत्मविश्वास बढेको प्रमिला बताउनुहुन्छ । तालिम सकेपछि सुरुमा घरमै सामान्य कपडा सिलाउने काम गरे पनि पछि बजारको माग बढ्दै गएपछि व्यवसाय दर्ता गरेर व्यवस्थित रूपमा उद्योग सञ्चालन गरिएको उहाँले बताउनुभयो। “पहिला सीप त थियो, तर व्यवसाय गर्ने आँट थिएन,” प्रमिलाले भन्नुभयो, “पछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच आयो । अहिले यही कामले घर चलाउन सजिलो भएको छ ।”

सुरुवाती दिनमा लगानी, मेसिन खरिद र ग्राहक जुटाउन कठिन भए पनि अहिले कामले गति लिएको बताउनुहुन्छ धनमाया  बुढा। “अहिले दैनिक रूपमा विद्यालय पोशाक, महिला तथा पुरुषका कपडा, सट पाइन्ट, स्टाकोट सिलाउने अर्डर आउँछन्,” उहाँले भन्नुभयो ।

उद्योगबाट अहिले वार्षिक चारदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँहरूको भनाइ छ । उक्त रकम दुवैले बराबरी बाँड्ने गर्नुभएको छ । यसबाट बालबालिकाको शिक्षा, घरखर्च र दैनिक जीवन सञ्चालनमा ठूलो सहयोग पुगेको उहाँहरू बताउनुहुन्छ । स्थानीय स्तरमै बसेर व्यवसाय गर्दा खर्च कम हुने र परिवारसँगै बसेर काम गर्न सकिने भएकाले यो व्यवसाय आफूहरूका लागि उपयुक्त बनेको धनमाया बताउनुहुन्छ ।

रुकुम पूर्वजस्तो हिमाली जिल्लामा महिलाहरूका लागि रोजगारीका अवसर सीमित छन् । अधिकांश महिलाहरू कृषि र घरायसी काममै सीमित हुने गरेका छन् । यस्तो अवस्थामा सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्ने आधार दिएको अन्य व्यवसायीहरू बताउँछन् । स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बेला–बेलामा सञ्चालन गर्ने स्तरोन्नति तालिमले व्यवसायलाई थप गुणस्तरीय बनाउन मद्दत पुगेको प्रमिलाले बताउनुभयो । सिस्ने गाउँपालिका तथा अन्य सङ्घसंस्थाको पहलमा उहाँहरूले थप तालिम समेत लिइसक्नुभएको तर चुनौती पनि उत्तिकै रहेको उहाँहरू बताउनुभयो । बजारको सीमितता, आधुनिक मेसिनको अभाव, महँगो कपडा तथा सामग्री ढुवानी, र पर्याप्त प्रोत्साहन नपाउनु मुख्य समस्या रहेको उहाँहरूको गुनासो छ ।

स्थानीय तहले सीपमूलक तालिम सञ्चालन गरे पनि त्यसको दीर्घकालीन अनुगमन र व्यवसाय विस्तारका लागि आवश्यक सहुलियत उपलब्ध गराउन नसकेको गुनासो अन्य उद्यमीहरूको पनि छ । तालिमपछि उद्यम सञ्चालन गर्न चाहनेलाई सहुलियत ऋण, आधुनिक उपकरण, बजार व्यवस्थापन र नियमित प्राविधिक सहयोग उपलब्ध गराउन सके यस्ता साना उद्योगहरूले स्थानीय अर्थतन्त्र बलियो बनाउन सक्ने देखिन्छ ।

प्रमिला र धनमाया केवल दुई महिलाको सफलताको कथा मात्र होइन, गाउँमै सम्भावना खोज्ने महिलाहरूका लागि प्रेरणाको स्रोत पनि हो । सीप, मेहनत र निरन्तरताले अवसर गाउँमै सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण उहाँहरूले प्रस्तुत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button