तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर–भोजपुर–खोटाङ जोड्ने पुल निर्माणमा ढिलाइ

'९ वर्षमा ५५ प्रतिशत मात्रै काम सम्पन्न'

उदयपुर। उदयपुरलाई भोजपुर र खोटाङसँग सिधा सडक सञ्जालमा जोड्ने सुनकोशी नदीमाथि निर्माणाधीन दुई मोटरेबल पक्की पुल निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि करिब ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले अझै सहज यातायात सुविधा पाउन सकेका छैनन् भने व्यापार, व्यवसाय र विकास निर्माणका गतिविधिमा समेत समस्या भोग्नुपरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका र भोजपुरको आमचोक गाउँपालिकालाई जोड्ने रानीटार पुल तथा उदयपुरको त्रियुगा नगरपालिका र खोटाङको बराहपोखरी गाउँपालिकालाई जोड्ने धाप्लाङघाट पुल २०७३ साल असार ३० गते रसुवा–एसएनएस पप्पु जेभीले करिब ५० करोड १४ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । त्यसपछि २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले हेलिकप्टरमार्फत पुगेर दुवै पुलको एकैसाथ तामझामका साथ शिलान्यास गर्नुभएको थियो ।

सम्झौता अनुसार दुवै पुल निर्माणको काम २०७६ साल असार २९ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण कम्पनीको ढिलासुस्ती, कमजोर अनुगमन तथा विभिन्न प्राविधिक र व्यवस्थापकीय कारणले ९ वर्ष बितिसक्दा समेत काम आधामात्रै सम्पन्न भएको हो ।

निर्माण कम्पनीका साइड इन्जिनियर हरि ज्ञवालीका अनुसार दुवै पुल २ सय मिटर लम्बाइका रहेका छन् । पुलका दुवै किनारमा एक–एक पिलर र बीच भागमा चार वटा बेल फाउन्डेसन निर्माण गर्नुपर्ने योजना रहेकोमा हालसम्म रानीटार र धाप्लाङ दुवै पुलमा किनारका पिलर निर्माण सम्पन्न भइसकेका छन् । रानीटार पुलमा तीन वटा फाउन्डेसनको काम सकिएको छ भने अन्तिम फाउन्डेसन निर्माण भइरहेको छ । त्यस्तै दुई वटा स्ल्याब ढलान सम्पन्न भएको र तीन वटा बाँकी रहेको बताइएको छ । धाप्लाङघाट पुलमा एक फाउन्डेसन निर्माण बाँकी रहेको तथा पाँच स्ल्याबमध्ये एक स्ल्याब ढलानको अन्तिम तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

यी दुवै पुललाई उदयपुर, भोजपुर र खोटाङका नागरिकले अत्यन्त महत्वका साथ हेरेका छन् । पुल समयमै सम्पन्न नहुँदा भोजपुर र खोटाङका विभिन्न स्थानीय तह अझै पनि उदयपुर हुँदै तराईसँग सहज सडक पहुँचबाट वञ्चित छन् । स्थानीय व्यवसायी तथा किसानलाई दैनिक उपभोग्य सामग्री ढुवानीदेखि कृषि उत्पादन बजारसम्म पु¥याउन कठिनाइ भइरहेको चौदण्डीगढी नगरपालिका–१ का स्थानीय पदम कटवालले बताउनुभयो ।

स्थानीय श्याम कार्कीका अनुसार पुल निर्माण सम्पन्न भएपछि भोजपुरका आमचोक, हतुवागढी, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिका तथा खोटाङका बराहपोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिका सिधै तराईसँग जोडिनेछन् । यसले स्थानीयस्तरमा आर्थिक, सामाजिक, शैक्षिक तथा व्यापारिक गतिविधिमा ठूलो परिवर्तन ल्याउने विश्वास स्थानीयवासीको छ । स्थानीय उत्पादन सहज रूपमा बाहिरी जिल्लासम्म निर्यात गर्न सकिने र विकास निर्माण सामग्री सहजै भित्र्याउन सकिने अपेक्षा गरिएको छ ।

निर्माण कम्पनीले पछिल्लो पटक थपिएको म्याद अनुसार २०८४ जेठ १७ गतेभित्र दुवै पुल निर्माण सम्पन्न गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्रमा असर परे पनि आफूहरू निर्धारित समयभित्र गुणस्तरीय ढंगले काम सम्पन्न गर्ने तयारीमा रहेको कम्पनीको भनाइ छ ।

स्थानीयवासीले भने पटक–पटक म्याद थपेर काम लम्ब्याउने प्रवृत्ति अन्त्य गर्दै अब थपिएको अन्तिम समयमा दिगो, गुणस्तरीय र सुरक्षित ढंगले पुल निर्माण सम्पन्न गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button