असोजमा बगेको सपना, माघमा पनि उठेन इलामका किसानको जीवन

इलाम । माघको चिसो बिहान। इलामको माई नगरपालिका छेउको एउटा सामुदायिक वन कार्यालयको पुरानो भवन। यही भवन अहिले चूडामणि दमाईको परिवारको “घर” बनेको छ। चार महिना अघि यिनै चूडामणि आफ्नै खेतमा पहेँलपुर धान हेर्दै भित्र्याउने दिनको प्रतीक्षा गरिरहेका हुन्थे। आज भने चूडामणिसँग नत जीवन धान्ने धान खेत नै छ, न घर, न त भोलिको निश्चितता नै।
२०८२ असोज १८ गते परेको अविरल वर्षासँगै माई खोलामा आएको बाढीले चूडामणिको घरसहित १२ कठ्ठा खेत एकै रातमा बगायो। बाढीसँगै चूडामणिकाे पिरवारकाे वर्षदिनको पसिना, आशा र सपना सबै बगरमा परिणत भए।
“धान भित्र्याउने तयारीमै थियौँ,” चूडामणि सम्झनुहुन्छ, “त्यही धानले परिवार पालिन्थ्यो। अब खेत नै छैन। माघ आयो, तर जीवन अझै उस्तै अड्किएको छ।”
चूडामणि मात्र होइनन्, माई नगरपालिकाका सयौँ किसानको अवस्था उस्तै छ। पुस्तौँदेखि धान खेतीमा निर्भर किसानका लागि असोजको बाढी केवल प्राकृतिक विपद् होइन, जीवन नै उल्ट्याउने घटना बन्यो।

खेतसँगै बग्यो भविष्य
सोही नगरपालिकाकी ३६ वर्षीया लाखमाया कुमालको परिवार पनि धान खेतीमै निर्भर थियो। दुई बिघा खेतमा लगाएको धान भित्र्याउने मुखैमा बाढी आयो। खेत, घर र चौपाया सबै बगायो।
“धान खेती नै हाम्रो जीवन थियो,” लाखमाया भन्छिन्, “अब यो परिवार के ले धान्ने ?”
उहाँका श्रीमान् जनक कुमालले खेतमै पसिना बगाएर दुई साना छोराको भविष्य बुन्दै आएका थिए। आज त्यो सपना पनि बाढीसँगै बगिसकेको छ।
माघ आयो, तर पुनःस्थापना आएन
असोजको बाढीपछि चार महिना बितिसक्यो। माघ लागिसक्दा पनि धेरै किसान अझै अस्थायी बासमै छन्। खेतहरू बगर बनेका छन्। खेतीमा फर्किने आधार हराएको छ।
लिला बहादुर मगरका लागि पनि माघ चिन्तै–चिन्ताको महिना बनेको छ। बाढीले उनको धानखेत पूरै बगायो। “धान खेती नै सबैथोक थियो,” उहाँ भन्नुहुन्छ “अब के खाने, कसरी बच्चालाई स्कुल पठाउने ? रातभर निद्रा लाग्दैन।”

करोडौँको क्षति, हजारौँ किसान प्रभावित
कृषि ज्ञान केन्द्र, इलामका अनुसार यस वर्षको बाढी–पहिरोबाट जिल्लामा करिब २७ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कृषि क्षति भएको छ। यसमध्ये धान खेतीमा मात्रै ८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। करिब ३ हजार ४ सय किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
माई, जोगमाई, पुवामाई र देउमाई खोलामा आएको बाढीले खेतीयोग्य जमिन बगाएको, पुरिएको र कटान गरेको छ। खोलातटीय क्षेत्रका धेरै खेत अब प्रयोगयोग्य छैनन्।
जलवायु परिवर्तनको असर, तर तयारी कमजोर
कृषि तथा जलवायु विज्ञहरूका अनुसार यस्तो अत्यधिक वर्षा जलवायु परिवर्तनको स्पष्ट संकेत हो। इलामको भू–बनोट, ओरोग्राफिक वर्षा र घना वनस्पतिले यहाँ वर्षा बढाउने गर्छ।
तर समस्या प्राकृतिक कारणमा मात्र सीमित छैन। अव्यवस्थित खोलातटीय बसोबास, कमजोर पूर्वतयारी, बाली बीमाको अभाव र ढिलो पुनःस्थापनाले किसानलाई अझै असुरक्षित बनाएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारी भन्नुहुन्छ, “राहत तत्कालको सहारा हो, समाधान होइन। जलवायु अनुकूल खेती, खेत संरक्षण र दीर्घकालीन पुनःस्थापना बिना किसान टिक्न सक्दैनन्।”

राहत छ, भरोसा छैन
जिल्ला प्रशासन र स्थानीय तहले राहत वितरण गरे पनि दीर्घकालीन पुनःस्थापना अझै सुरु हुन सकेको छैन। धेरै किसानसँग बाली बीमा नहुँदा ऋण लिएर खेती गरेका किसान झन् ठूलो संकटमा परेका छन्। उनीहरु सबैकाे गुनासाे छ– माघको चिसोमा राहतले पेट त भरिएला, तर भविष्यको प्रश्न अनुत्तरित छ।
माघको यथार्थ
असोजको बाढी त बितिसक्यो। तर त्यसले छाडेको पीडा माघमा पनि उस्तै छ। खेतहरु बगर बनेका छन्, किसान अन्योलमा छन्। चूडामणि, लाखमाया र लिला बहादुरजस्ता किसानका कथा एउटै प्रश्न सोधिरहेका छन्—विपद् पछि पनि समयमै पुनःस्थापना नआए किसान कसरी बाँच्ने ?








प्रतिक्रिया राख्नुहोस्