तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिभा सुपर लिग क्रिकेट आइतबारदेखि 

पोखरा । पोखरामा भोलि (आइतबार) देखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । 

प्रतिभा माविको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट सङ्घको सहयोग र समन्वयमा आइतबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको प्रतिभा माविका प्राचार्य किरण सापकोटाले बताउनुभयो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार हुने उद्घाटन खेलमा आयोजक प्रतिभा मावि र वाराही माविबिच प्रतिस्पर्धा हुने उहाँले जनाउनुभयो । भोलि नै हुने दोस्रो खेलमा ग्लोबल कलेजियट र बाल मन्दिर माविबिच प्रतिस्पर्धा हुने छ । १२ विद्यालय सहभागी प्रतियोगितामा माघ १९ गते कुमुदिनी होम्स मावि र छोरेपाटन मावि तथा मदरल्याण्ड र जनप्रिय माविबिच खेल हुने तालिका सार्वजनिक गरिएको छ ।

हरेक समूहबाट विजेता बनेकाहरूले सेमिफाइनल खेल्ने प्राविधिक पक्ष हेरिरहेका क्रिकेट संघ पोखरा महानगर समितिका संयोजक बिरेन पुनले जानकारी दिनुभयो ।  

प्रतियोगिताको विजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपविजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button