राप्तीको बाढीले थिचिएको चौफेरी, चुनावले बोकेको आशा
बाँके। बाँके निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत डुडुवा गाउँपालिका वडा नम्बर–१ चौफेरीसहित दर्जनौँ गाउँका लागि राप्ती नदी जीवनरेखा होइन, वर्षेनी आउने त्रास बनेको छ। हरेक बर्खायाममा बाढीले घर बगाउँछ, खेत डुबाउँछ र स्थानीयको भविष्य तहसनहस बनाउँछ। दशकौँदेखि यही नियति भोग्दै आएका नागरिक आज पनि उस्तै पीडामा छन्।
बाढीले घरबार र जीविकोपार्जन नष्ट गर्दा पनि दीर्घकालीन समाधान नहुनुमा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। यही क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बनेका नेताहरूले राप्ती नियन्त्रण र सुरक्षित बसोबासका विषयमा प्रभावकारी पहल नगरेको गुनासो छ।
चौफेरीका सुरेश यादव भन्छन्, “नेता बने, पद पाए, तर हाम्रो पीडा उस्तै रह्यो।”आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट २० जना उम्मेदवार मैदानमा छन्। तर जनचासो चार जना मुख्य उम्मेदवारमा केन्द्रित देखिन्छ। यो निर्वाचन अब केवल उम्मेदवार चयन नभई, पुराना आश्वासन र नयाँ आशाको परीक्षा बनेको स्थानीय बताउँछन्।
नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भतिजा सुधान्सु कोइरालाले डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँगै बाढी प्रभावित बस्ती पुगेर राप्ती नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइरहेका छन्। दीर्घकालीन समाधानका लागि संघीय तहबाट विशेष पहल गर्ने उहाँको भनाइ छ।
नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले राप्ती नदीमा तटबन्ध निर्माणलाई आफ्नो पहिलो एजेन्डा भएको बताउँदै मतदातासँग समर्थन मागिरहेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्ट जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन्। “५० वर्षपछि चौफेरीमा बिजुली पुग्नुमा मेरो भूमिका छ,” भन्दै उहाँले विकास सम्भव छ भन्ने उदाहरण आफूले देखाएको दाबी गर्नुभयो। उहाँले रणनीतिसहित समस्याको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक श्रेष्ठले डुडुवा गाउँपालिकाका केही वडाहरू अझै दुर्गम अवस्थामा रहेको उल्लेख गर्दै आफू निर्वाचित भए दुर्गमलाई सुगम बनाइने दाबी गर्नुभयो।
तर राजनीतिक बहस र प्रतिबद्धताभन्दा गहिरो छ स्थानीयको पीडा। चौफेरीकी रिना यादव भन्छिन्, “बाढी आयो कि रातभर निद्रा लाग्दैन। कहिले घर जान्छ कि, कहिले बालबच्चा बग्छन् कि भन्ने डरले छाती चिरिन्छ। चुनाव आउँछ, नेता आउँछन्, फोटो खिच्छन्, आश्वासन दिन्छन्, जितेपछि हराउँछन्।”
त्यस्तै, सुनिता यादव भन्छिन्, “हामी त विकासको नक्सामै छैनौँ जस्तो लाग्छ। खानेपानी छैन, सुरक्षित बसोबास छैन। बाढी आयो भने भाग्ने ठाउँ छैन।” उहाँका अनुसार, बाढीपछि राहत आउँछ कि आउँदैन भन्ने पनि निश्चित हुँदैन। “राहतभन्दा ठूलो कुरा स्थायी समाधान हो। हामीलाई दया होइन, अधिकार चाहिएको हो,” उहाँले भन्नुभयो।
स्थानीय रामदिन महतो भन्छन्, “हामीले जिताएर पठाएका मन्त्रीहरूले हाम्रो आवाज सदनमा कहिल्यै उठाएनन्। अब झुटो आश्वासन होइन, नयाँ पुस्तालाई रोज्ने बेला आएको छ।”
आगामी निर्वाचनलाई चौफेरीका बासिन्दाले अन्तिम आशाको रूपमा हेरेका छन्। रिना यादवको शब्दमा, “हामी अब भाषण सुन्न चाहँदैनौँ। जो बाढीको बेला मात्रै होइन, बाढी नआउँदा पनि हाम्रो साथमा उभिन्छ, हामी उसैलाई मत दिन्छौँ।”
राप्तीको किनारमा आज पनि सयौँ आवाजहरू न्याय खोजिरहेका छन्। प्रश्न एउटै छ—यो पटक उनीहरूको आवाज सुन्ने प्रतिनिधि आउने कि भरोसा फेरि बाढीसँगै बग्ने?








प्रतिक्रिया राख्नुहोस्