तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा विद्यालय अनुगमन सुरु, विद्यार्थीका गुनासा उजागर

बाँके। नरैनापुर गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक र वातावरणीय अवस्था सुधार गर्ने उद्देश्यले विद्यालय अनुगमन सुरु गरेको छ। वडा नं. ६ बाट सुरु भएको अनुगमन अभियान वडा नं. २ सम्म पुगेको छ।

गाउँ शिक्षा समिति संयोजक तथा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाहको नेतृत्वमा अनुगमन टोलीले विद्यालय–विद्यालय पुगेर स्थलगत अवलोकन गरेको हो। सोही क्रममा वडा नं. २ स्थित आदर्श माध्यमिक विद्यालयको अनुगमन गरिएको छ।

अनुगमन टोलीले विद्यालयको भौतिक संरचना, विद्यार्थी संख्या, पठनपाठनको अवस्था तथा देखिएका समस्याबारे जानकारी लिएको छ। विद्यालयका शिक्षक पवनकुमार यादवले विद्यालयको समग्र अवस्था, तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन आवश्यकताबारे टोलीलाई अवगत गराउनुभएको थियो।

अनुगमनका क्रममा विद्यार्थीहरूसँग गरिएको प्रत्यक्ष छलफलमा विद्यालयका गम्भीर समस्या देखिएका छन्। छात्रा विद्यार्थीहरूले स्यानिटरी प्याडको व्यवस्थापन नहुनु, छात्र–छात्राका लागि शौचालयको उचित व्यवस्था नहुँदा दैनिक समस्या भोग्नुपरेको गुनासो गरेका छन्। नयाँ निर्माण गरिएको शौचालय प्रयोगविहीन रहनु थप समस्या बनेको विद्यार्थीको भनाइ छ।

विद्यार्थीहरूले कक्षाकोठाका झ्याल–ढोका जीर्ण अवस्थामा रहेको, कक्षाकोठा सुरक्षित र अनुकूल नभएको बताएका छन्। शैक्षिकतर्फ सामाजिक, जनसंख्या र शिक्षा विषयको पठनपाठन नियमित नहुँदा पाठ्यक्रम पूरा गर्न कठिन भइरहेको गुनासो गरिएको छ। विषयगत शिक्षकको कमी, केही शिक्षक समयमै विद्यालय तथा कक्षामा नआउने प्रवृत्ति, र केही विद्यार्थी पूरा समय विद्यालयमा नबस्ने अवस्था रहेको पनि विद्यार्थीहरूले बताएका छन्।

अनुगमनपछि प्रतिक्रिया दिँदै गाउँ शिक्षा समिति संयोजक शाहले समग्र शिक्षा सुधारको पहल सुरु गरिएको बताउनुभयो। स्थलगत अनुगमनमार्फत अवस्था हेर्ने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ। शैक्षिक गुणस्तर खस्किँदै गएको, भौतिक समस्या तथा तहगत र विषयगत शिक्षकको अभाव रहेको उहाँले स्वीकार गर्नुभयो।

उहाँले समयमा विद्यालय नआउने शिक्षकको आधा दिनको बिदा कटौती गरी अनुशासनात्मक कारबाही गर्न निर्देशन दिइएको जानकारी दिनुभयो। शिक्षा शाखाप्रति देखिएको उदासीनताबारे कार्यपालिका बैठकमा छलफल गर्ने पनि उहाँले बताउनुभयो।

अनुगमनका क्रममा उठेका विद्यार्थीका आवाज अब नीति र व्यवहारमा कति रूपान्तरण हुन्छन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ। विद्यालय सुधारका लागि विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन र स्थानीय सरकारको साझा प्रयास आवश्यक रहेको निष्कर्ष अनुगमन टोलीले निकालेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button