बाँकेमा चुनावी सरगर्मी बढ्यो, घरदैलोदेखि कार्यालय स्थापनासम्म दौडधुप

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन प्रक्रिया सकिएसँगै बाँके जिल्ला चुनावी चहलपहलले भरिन थालेको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार समिति गठन, निर्वाचन सम्पर्क कार्यालय स्थापना तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै निर्वाचन माहौललाई थप तातेका हुन् ।
जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका प्रमुख दल तथा स्वतन्त्र उम्मेदवारहरू अहिले चुनावी रणनीति निर्माण, मतदाता भेटघाट र स्थानीय मुद्दा पहिचानमा सक्रिय देखिन्छन् । मतदाताको मनोविज्ञान बुझ्ने, स्थानीय आवश्यकता समेट्ने र घोषणापत्रमार्फत आफ्ना एजेण्डा स्पष्ट पार्ने प्रतिस्पर्धा बढ्दै गएको छ ।
नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईका लागि क्षेत्रीय प्रचारप्रसार समिति गठनको काम तीव्र गतिमा अघि बढिरहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका तीन वटै क्षेत्रमा प्रचार समिति गठनसँगै सम्पर्क कार्यालय खोल्ने काम पनि सुरु भइसकेको छ ।

त्यसैगरी नेपाली काँग्रेस बाँकेका सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण गौडेलले पनि काँग्रेसले क्षेत्रीय प्रचारप्रसार समितिहरू गठन गर्ने र निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले औपचारिक तथा अनौपचारिक प्रचार सुरु भएसँगै जिल्ला नै बिस्तारै निर्वाचनमय बन्दै गएको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार दीपेन्द्र विष्टले आफूले प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको र घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाएको जानकारी दिनुभयो । विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गर्ने काम पनि तीव्र गतिमा अघि बढिरहेको उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारीले पनि कार्यकर्ता परिचालन गर्दै जनताको भावना बुझ्ने र सोहीअनुसार प्रचारप्रसार अघि बढाउने काम भइरहेको बताउनुभयो । रास्वपाले क्षेत्र नम्बर ३ मा अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएपछि तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठनलाई गति दिइएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा सक्रिय देखिएका छन् । स्वतन्त्र उम्मेदवार सौरभ जङ्ग शाहले जनताका एजेण्डा र मागलाई प्रत्यक्ष सुन्न जनसम्पर्क अभियान सञ्चालन गरेको बताउँदै जेनजी पुस्ताको भावना समेटिएको घोषणापत्र सार्वजनिक गरेर प्रचारप्रसार सुरु गरेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा तीन सिटका लागि ५६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ४ जना महिला उम्मेदवारको सहभागिता रहेको छ । निर्वाचन कार्यालयले मतदाता शिक्षा, आचारसंहिता पालना र शान्तिपूर्ण मतदान गर्ने वातावरण सुनिश्चित गर्न आवश्यक तयारी अघि बढाइएको जनाएको छ ।
यसै सन्दर्भमा रेडियो नेपालसँग कुराकानी गर्दै जेनजी अभियन्ता पूजा कँडेलले राजनीतिक दलका घोषणापत्रमा जेनजी पुस्ताको आवाज समेटिनुपर्नेमा जोड दिनुभयो । उहाँले जेनजी आन्दोलनले दिएको सकारात्मक सन्देशलाई संस्थागत गर्ने, शासन व्यवस्थालाई स्थायित्व दिने र युवामैत्री नीतिगत सुधार ल्याउने समय आएको बताउनुभयो ।
कँडेलले संविधानको रक्षा गर्दै नयाँ सोच र व्यवहारिक परिवर्तन लागू गर्न राजनीतिक दलहरूको ध्यान अझै पर्याप्त रूपमा नपुगेको महसुस भएको बताउँदै दिगो समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले युवाहरूलाई भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।
निर्वाचन नजिकिँदै जाँदा बाँकेमा चुनावी गतिविधि थप सक्रिय बन्दै गइरहेको छ भने मतदाताको चासो पनि उम्मेदवारको प्रतिबद्धता, स्थानीय विकासका योजना र युवा केन्द्रित नीतितर्फ केन्द्रित हुन थालेको देखिन्छ ।









प्रतिक्रिया राख्नुहोस्