रौतहट–१ मा प्रतिष्ठाको लडाइँ : माधव नेपालसहित पुराना र नयाँ उम्मेदवारबीच कडा प्रतिस्पर्धा
रौतहट । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहोल रोचक देखिएको छ । राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा नम्बर १ तथा गढीमाई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ पर्ने यस क्षेत्रमा पुराना नेताहरु आफ्नो विरासत जोगाउने ध्याउन्नमा छन् भने नयाँ अनुहार आफ्नो इतिहास रच्ने दौडमा देखिन्छन् । यसैकारण पनि सात स्थानीय तह समेटिएको यस निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
यस निर्वाचन क्षेत्रमा कुल ४१ वडा, ६७ मतदान स्थल र १३२ मतदान केन्द्र रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ कुल मतदाता संख्या १ लाख ८ हजार ७२६ रहेको छ। जसमध्ये ६० हजार २६९ पुरुष र ४८ हजार ५९७ महिला मतदाता रहेका छन्।
२०५६ सालदेखि २०७९ सालसम्म यही निर्वाचन क्षेत्रबाट तीन पटक निर्वाचित भइसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ। लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आउनुभएका नेपालका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ।
त्यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट विजयी हुनुभएका अनिलकुमार झा यसपटक नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुभएको छ। झा पनि यस क्षेत्रका प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ।
नेकपा एमालेबाट अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश चौधरी तथा जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र राय यादव नयाँ उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ। यी उम्मेदवारहरूले मत विभाजनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवार र २१ स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना चुनावी मैदानमा छन्। जसमध्ये ३ जना महिला र ३६ जना पुरुष उम्मेदवार रहेका छन्। मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार उम्मेदवारहरूले यतिबेला मतदातासँग भेटघाट, घरदैलो कार्यक्रम तथा सभासम्मेलनलाई तीव्र बनाएका छन्।
कस्तो छ क्षेत्र नं–१ को चुनावी इतिहास ?
रौतहट निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक इतिहास हेर्दा मतदाताले पटक–पटक फरक–फरक दल र उम्मेदवारलाई अवसर दिएको देखिन्छ।
२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका ब्रजकिशोर सिंह १२ हजार ५६९ मतसहित विजयी हुनुभएको थियो। उहाँले नेकपा (प्रजातान्त्रिक) का उम्मेदवार खजान्ची शाहलाई २ हजार २२० मतले पराजित गर्नुभएको थियो।
२०५१ सालको निर्वाचनमा पनि सिंहले १४ हजार ६३७ मत प्राप्त गरी पुनः जित हात पार्नुभयो।
२०५६ सालमा नेकपा एमालेका माधवकुमार नेपालले २२ हजार ८६८ मत प्राप्त गर्दै कांग्रेसका ब्रजकिशोर सिंहलाई पराजित गर्नुभयो।
२०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बवन सिंह विजयी हुनुभयो भने २०७० सालको संविधानसभा निर्वाचनमा पुनः माधवकुमार नेपाल निर्वाचित हुनुभयो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले २१ हजार ४७२ मत प्राप्त गरी जित हासिल गर्नुभयो। २०७९ सालको निर्वाचनमा भने माधवकुमार नेपालले ३३ हजार ५२२ मत ल्याउँदै पुनः विजय हासिल गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गर्नुभएको थियो।
चुनावी गणित के भन्छ ?
यसपटक क्षेत्र नं–१ मा अनुभवी नेताहरू र नयाँ उम्मेदवारबीच मत विभाजन हुने सम्भावना उच्च देखिएको छ। माधवकुमार नेपालको व्यक्तिगत प्रभाव, कांग्रेस उम्मेदवार अनिलकुमार झाको क्षेत्रीय पकड, एमाले उम्मेदवार अजयकुमार गुप्ताको संगठन शक्ति तथा रास्वपा र जसपाका उम्मेदवारले आकर्षित गर्ने युवा र मधेसी मतले चुनावी परिणामलाई रोचक बनाएको छ।
राजनीतिक रूपमा फरक–फरक धार राख्ने रौतहट क्षेत्र नम्बर १ का मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसलाई विजयी गराउनेछन् भन्ने विषयले यतिबेला राजनीतिक वृत्त र सर्वसाधारणबीच चासो बढाएको छ। धेरै उम्मेदवारको उपस्थितिले यसपटकको निर्वाचन थप प्रतिस्पर्धात्मक र अनिश्चित बनेको देखिन्छ।








प्रतिक्रिया राख्नुहोस्