तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा करिब ९० प्रतिशत मतदान 

जनकपुरधाम। मधेस प्रदेशमा रिक्त रहेका राष्ट्रिय सभा सदस्यका चार पदका लागि हालसम्म ३ सय ७ जना भन्दा बढी मतदाताले मतदान गर्नुभएको छ।

चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। मतदान आज बिहान १० बजेदेखि सुरु भई दिउँसो १:३० बजे सम्ममा ३ सय ७ भन्दा बढीले मतदान गरिसकेका मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीले जानकारी दिनुभयो।

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा मतदान भइरहेको छ। दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।    

मधेस प्रदेशमा प्रारम्भमा १०४ जना प्रदेशसभा सदस्य र २६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३७० जना मतदाता रहेकामा हाल १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी ३६४ जना मतदाता रहनुभएको छ ।

प्रदेश सभा तर्फ ९७ जना र २ सय १० जनाले मतदान गर्नु भएको छ । दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभा सदस्य तर्फ प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहको प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मधेस प्रदेशका सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत ईशरले मतदान गर्नुभएको छ ।

मतदान पछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राष्ट्रिय सभा सदस्यको निर्वाचनले सङ्घीयतालाई बलियो बनाउने आशा व्यक्त गर्नु भयो । उहाँले सङ्घीयता माथि खतरा रहेको बताउँदै सङ्घीयता मधेसका लागि अपरिहार्य भएको बताउनुभयो ।

मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको गठबन्धनको आधारमा नै परिणाम आउनेमा ढुक्क रहनका लागि आग्रह गर्नु भयो । राष्ट्रिय सभा सदस्यका लागि नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टीका बिचमा गठबन्धन भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button