जेन–जी आन्दोलनका चुनौतीबीच संघीय संसद्को भूमिकामा अध्यक्ष दाहालको जोड
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रतिनिधि सभाको निर्वाचन भएर त्यसले काम शुरु नगर्दासम्म संघीय संसद्को जिम्मेवारी पूरा गर्न व्यवस्थित र मर्यादित भएर कार्य पूरा गर्न पनि सबै संसद्हरूलाई अपिल गर्नुभएको छ ।
सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सभाको चालु अधिवेशनमा केही नयाँ चुनौतीका साथ थप नयाँ जिम्मेवारी काँधमा आएको बताउनु भयो ।
उहाँले जेनजी पुस्ताको भ्रष्टाचार विरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने रहेको र संघीय संसद् यी लक्ष्यहरू पूरा गर्ने केन्द्रबिन्दु भएकाले यसलाई त्यही रूपमा सदुपयोग गर्न पनि अपिल गर्नुभयो ।
अध्यक्ष दाहालले भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनका कारणले गर्दा राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रक्रियागत रूपले काम पूरा नहुँदै अन्त्य भएकोले उक्त अधिवेशनमा भए गरेका कामकारबाहीको विवरण सभासमक्ष प्रस्तुत गर्न नसकिएको र आन्दोलनका क्रममा कतिपय उच्छृङ्खल तत्त्वको घुसपैठ भई संघीय संसद् भवन आगजनीबाट पूर्ण क्षति भएको बताउनुभयो ।
राष्ट्रिय सभामा हालसम्म उत्पत्ति भएका ६८ वटा विधेयकहरूमध्ये ३९ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् १२ वटा विधेयक सरकारले फिर्ता लिएको छ ।
प्रतिनिधि सभा विघटित हुँदा राष्ट्रिय सभामा दर्ता भई सभाबाट पारित गरेर प्रतिनिधि सभामा विचाराधीन रहेका ७ वटा विधेयक सहित १२ वटा विधेयक निष्क्रिय भएका र हाल सभामा विचाराधीन ५ वटा विधेयक मध्ये एक वटा विधेयक सभामा सैद्धान्तिक छलफल भएको, एक वटा विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेश भएको र ३ वटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा रहेका छन् ।
राष्ट्रिय सभाको एक तिहाइ सदस्यको नियमित समयावधि सकिनै लाग्दा माघ ११ गते १८ जना सांसदहरूको निर्वाचन तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्