बाँकेका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलवार बाँकेको तीनै वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा धेरै २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँके क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले बाँकेको समग्र विकासका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
सोही क्षेत्रमा नेपाली काँग्रेसका जिल्ला सचिव सुधान्सु कोइरालाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी क्षेत्र नं २ बाट राप्रपाका ऋषिराज देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र विष्ट, जनता समाजवादी पार्टी नेपालका कमरुद्दीन राई, जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार गोपालप्रसाद गिरी, शौभाग्यजंग शाह लगायत गरी जम्मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, बाँके क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) का निवर्तमान सांसद सूर्य ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, राप्रपाका प्रदीपकुमार शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश थारु तथा प्रगतिशील लोकतान्त्रिक पार्टीकी नमुना केसी ले उम्मेदवारी दर्ता गराउनुभएको छ । केसी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर उम्मेदवारी दिनु भएको छ ।
बाँके क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (एमाले) का सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीका दीपक जिएम, राप्रपाका तारकसिंह थारु तथा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्